इलाम — इलामको सुर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकखण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार बिहान करिब ११ः५५ बजे खड्का गाउँबाट बमजम डाँडा तर्फ बाँस बोकी जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गाडी चालक बिलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी सुर्योदय नगरपालिका–४ बमजम डाँडाका ४५ वर्षीय स्थानीय बासिन्दा रहेका प्रहरीले जनाएको छ।
यस्तै, सहचालक कुन्दन वाईबा घाइते भएका छन्। श्रीनिधि अस्पताल मा उनको उपचार भइरहेको छ।
दुर्घटनामा घाइते अर्का व्यक्ति बिशाल थुलुङ राई लाई थप उपचारका लागि बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment