इलाम जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन दिनमै जुबिलेन्ट इलाइट एकेडेमी र स्वर्णिम मोडल एकेडेमीले विजयी सुरुवात गरेका छन्।
आज सम्पन्न पहिलो खेलमा जुबिलेन्ट इलाइट एकेडेमीले श्री अमर माध्यमिक विद्यालय, बरबोटेलाई ९१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको जुबिलेन्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। टोलीका लागि ओपनर ब्याट्सम्यान क्रीष्टियानो श्रेष्ठले उत्कृष्ट ४४ रनको योगदान दिएका थिए।
१४४ रनको विजयी लक्ष्य पछ्याएको अमर माध्यमिक विद्यालय भने जुबिलेन्टको धारिलो बलिङसामु टिक्न सकेन र ५२ रनमै समेटियो। जुबिलेन्टका बलर सिमन भट्टराईले ३ विकेट लिए भने उशल खजुम र सक्षम राईले समान २–२ विकेट हात पारे। अमर माविका दिक्षित घिमिरेले ११ रन तथा साजन ठाकुरले १० रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
अमर माविका बलर साजन ठाकुरले २ विकेट लिँदा एल्सन खत्री र शुसिल खत्रीले समान ३–३ विकेट लिए। ह्याट्रिकसहित ३ विकेट लिएका शुसिल खत्री पहिलो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य तथा इलाम जिल्ला क्रिकेट सङ्घका अध्यक्ष अर्जुन पौडेलले ट्रफी प्रदान गरेका थिए।
त्यसैगरी, आजै सम्पन्न दोस्रो खेल निकै रोमाञ्चक बनेको थियो। अन्तिम ओभरको अन्तिम बलमा स्वर्णिम मोडल एकेडेमीले प्रज्ञासदन बोर्डिङ स्कुललाई पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको प्रज्ञासदन बोर्डिङ स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो। टोलीका लागि कर्णबहादुर राउतले ४६ रनको उत्कृष्ट पारी खेले। स्वर्णिमका बलर भरत श्रेष्ठ र अमीस भेटवालले समान ३–३ विकेट लिए।
१३१ रनको लक्ष्य पछ्याएको स्वर्णिम मोडल एकेडेमीका ओपनर मन्दिप बुढाथोकीले अर्धशतकीय इनिङ खेलेपछि टोलीलाई जिततर्फ डोर्याए। अन्तिम बलसम्म संघर्षपूर्ण बनेको खेलमा स्वर्णिमले लक्ष्य पूरा गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो। प्रज्ञासदनका बलर दर्पण पौडेल र रितिक राईले समान ३–३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
५४ रनको उत्कृष्ट पारी खेलेका मन्दिप बुढाथोकी दोस्रो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई इलाम जिल्ला क्रिकेट सङ्घका सदस्य राजु कट्टेलले ट्रफी प्रदान गरेका थिए।
इलाम जिल्लाभरका ६ विद्यालय सहभागी रहेको प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा श्री फिक्कल मावि, सूर्योदय नगरपालिका; श्री सिरिसे मावि, माइजोगमाई गाउँपालिका; स्वर्णिम मोडल एकेडेमी, माई नगरपालिका; श्री अमर मावि, इलाम नगरपालिका; प्रज्ञासदन बोर्डिङ स्कुल, इलाम नगरपालिका तथा जुबिलेन्ट इलाइट एकेडेमी, इलाम नगरपालिका सहभागी रहेका छन्।

0 comments:
Post a Comment