डिफेन्डिङ च्याम्पियन जुबिलेन्टको फाइनल यात्रा तय



इलाम — इलाम जिल्ला क्रिकेट सङ्घको आयोजनामा इलामको ठूलो टुँडिखेलमा जारी अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जुबिलेन्ट इलाइट एकेडेमी (JEA) फाइनलमा प्रवेश गरेको छ।

जेष्ठ १४ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा जुबिलेन्टले श्री सिरिसे माध्यमिक विद्यालय, माईजोगमाईलाई २५ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको जुबिलेन्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनको योगफल तयार गरेको थियो। टोलीका ओपनर उशल खजुमले उत्कृष्ट ब्याटिङ गर्दै ३८ बलमा ४५ रन बनाए। सीमोन भट्टराईले ११ तथा प्रियस राईले ७ रनको योगदान दिए।

११९ रनको लक्ष्य पछ्याएको श्री सिरिसे सेकेन्डरी स्कुल जुबिलेन्टको कसीलो बलिङसामु ९३ रनमै समेटियो। जुबिलेन्टका बलर क्रीष्टियानो श्रेष्ठले ४ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिएपछि प्लेयर अफ द म्याच घोषित भए।

सिरिसेका तर्फबाट संयोक नेपालले १३ रन, अदिप्त लिम्बुले १२ रन तथा हेमन्त तिवारीले १० रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। बलिङतर्फ दिपेश गुरुङले २ विकेट लिए।

यसैबीच, आजै सम्पन्न लिग चरणको दोस्रो तथा अन्तिम खेलमा श्री सिरिसे माध्यमिक विद्यालयले श्री अमर माध्यमिक विद्यालय, बरबोटेमाथि सहज जित दर्ता गर्‍यो।

टस जितेर ब्याटिङ रोजेको अमर मावि १३.४ ओभरमै अलआउट हुँदै ४६ रनमा सीमित बनेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिरिसे माविले ६.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका आफन्त लिम्बूले १६ बलमा १८ रन तथा अंकित लिम्बूले १३ बलमा १६ रन बनाए। बलिङमा पनि ३ विकेट लिएका आफन्त लिम्बू प्लेयर अफ द म्याच चुनिए।

इलाम जिल्लाभरका ६ विद्यालय सहभागी रहेको प्रतियोगिताको फाइनल खेल अब श्री स्वर्णिम मोडेल स्कुल, माई नगरपालिका र जुबिलेन्ट इलाइट एकेडेमी, इलाम नगरपालिका बीच आगामी मंगलबार जेष्ठ १९ गते बिहान ११:३० बजे ठूलो टुँडिखेलमा हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment