शिशिर भट्टराई
वर्तमान नेपाली काव्य जगतलाई नियाल्ने हो भने गद्य कविताको अवस्था निक्कै बलियो भेटिन्छ । पछिल्लो समय शास्त्रीय (छन्द) लयमा आधारित भएर लेखिएका कविताभन्दा गद्य कविता बढी लेखिएको पाइन्छ, यसरी हेर्दा युवा पुस्ता गद्य साहित्यबाटै प्रेरित भएर गद्य कविता तिर होमिएको अनुमान गर्न सकिन्छ । गद्य कवितालाई उच्च विचारको कलात्मक अनुभूति मानिन्छ भने पद्य कवितालाई उच्च कलाको वैचारिक अनुभूति मानिन्छ तथापी यी दुवै काव्य जगतका उत्तिकै महत्वपूर्ण पाटाहरु हुन् । गद्य कवितामा होमिएको वर्तमान युवा पुस्ताका एक नव प्रतिभा हुन् नवीन प्राचीन । झापा दमकमा बसेर कविता विधामा सशक्त कलम चलाउने कवि नवीन प्राचीनलाई कविका रुपमा उभ्याउने बलियो आधार हो “उभिएर एक्लै” नामक कविता संग्रह । उनको यो संग्रह कविताको आकारमा छोटो तर गहिरा विचारले भरिएको साथै कलापक्ष पनि उत्तिकै बलियो भएको कविताको संग्रह हो ।
मुटु, आँखा, हीरा जस्ता कुराहरुलाई दृष्टान्त मानेर हेर्दा प्रायजसो सुन्दर र प्रिय वस्तु संसारमा सानो रुपमा भेटिन्छन् भन्नु अत्युक्ति नहोला । यस्तै सुन्दर र प्रिय वस्तु मध्येको अर्को एकझैँ लाग्छ नवीन प्राचीनको कविता संग्रह “उभिएर एक्लै”। उनी आफैँमा शारीरिक बनोटले छोटो कदका ख्याउटे देखिन्छन् तर मिलनसार र हार्दिकताले भरिएका मानवीय गुणले भरिपूर्ण एक सिंगो सुन्दर मान्छे हुन् । मान्छे जस्तै छोटो तर गहन भावले ओतप्रोत सुन्दर कविताहरुको संग्रहका साथमा पाउँदा कवि प्राचीनको भित्री सुन्दरता अझ प्रस्फुटित भएको आभाष हुन्छ ।
नवीन प्राचीनको कविता संग्रह “उभिएर एक्लै” मा ४४ वटा कविताहरु समेटिएका छन् । नेपाली भाषामा लेखिएका यी ४४ वटै कविता बलराम अधिकारीद्वारा अंग्रेजी भाषमा समेत अनुवाद गरिएको छ । जो नेपाली कविता जगतमा नवीन प्रयोगनै मान्नु पर्छ तथापि अनुवादित सबै कविताहरु अनुवादको सिद्धान्तभित्र बाँधिएर कविताको वास्तविक भावलाइ नमारिकन अनुवाद भएका छन् । जति प्राकृतिक लाग्छन् प्राचीनका कविता अनुवादमा पनि उत्तिकै सशक्त छन् । नेपाली काव्य कलालाई अंग्रेजी भाषामा अनुवाद गरेर विश्व साहित्यमा नेपाली साहित्यलाई सशक्त रुपमा उठाउने प्राचीनको यो प्रयासलाई सराहनीय कदमको रुपमा लिन सकिन्छ ।
चाहिन्छ
निक्कै साहस
ऐना हेर्न
कायरहरु ऐना हेर्दैनन्
–You need a lot of courage
to look at yourself in the mirror
cowards don’t look in the mirror
कवितामा गहिरो विचार प्रस्तुत गर्न माहिर प्राचीन सिंगो संग्रहभरी जीवन र जगतका सर्वमान्य पक्षहरुलाई समेटेर कविता बनाउँछन् ।
संग्रहमा कवि प्राचीनले मानव जीवनको सुख, दुख, हाँसो, रोदन, जीवनका संघर्षपूर्ण कथा साथै समकालीन समाजका विकृति, विसंगतिजस्ता पक्षलाई वैचारिक ढंगले प्रस्तुत गरेका छन् । कविता छोटा छन् तर भावले सिंगो छन् । भन्न खोजेका कुरालाई कतै पनि कमी नबनाई पूर्ण रुपमा व्यक्त गरेका छन् । “यौटा सानो सरल कृतिमा पूर्ण संसार देऊ” भन्ने राष्ट्रकवि घिमिरेको विचारसँग मेल खान्छन् कवि नवीन प्राचीनका कविता । अहिलेको व्यस्त समाज साथै समयको महत्व बुझेका कवि नवीन प्राचीन पाठक अनुरुपका कविता लेख्छन् । लामालामा काव्य पढेर बस्न फुर्सद नभएका पाठकका लागि उनका कविता निक्कै प्रिय छन् । सामान्य चिया गफ, यात्रा तथा छोटो समयको बसाईंमा उनका कविता पढ्न र आनन्द लिन सकिने खालका छन् । आकारमा छोटा छन् तर आफैँमा पूर्ण छन् । विचार अभिव्यक्त गर्न लामालामा कविता अथवा काव्य लेख्नै पर्छ भन्नेहरुका लागि भने यिनी विरोधीझैँ लाग्छन् किनकि उनका कविता पाँच÷छ हरफमा पनि सिंगो अभिव्यक्ति दिन सफल देखिन्छन् ।
“क्रूर बगैँचा’
संसारकै
खतरनाक
अपराधीहरुको पनि
बाल्यकालको तस्वीर
हाम्रा नानीहरुको जस्तै
अबोध हुँदोरहेछ ।
वर्तमान समयमा सीमान्तकृत क्षेत्र, जातीय, भाषिक, पिछडिएको समाजका कथा व्यथालाई सिर्जनामा अटाउनु पर्छ भन्नेहरुलाई उनले कविता नारा होइन भन्ने उत्तर दिन्छन् । संग्रहभरी कतै जाति, भाषा, धर्म, पिछडिएको क्षेत्र आदि पक्षलाई शब्दमा अटाएका छैनन् तर भाव वा विचारले यी पक्षलाई उच्च ढंगले सम्बोधन गरेका छन् । अरुभन्दा पृथकता कविको यही भेटिन्छ । उनका कविताले मानिसलाई ईश्वर मान्छन् र मानिस ईश्वर बन्नुपर्छ भन्ने भाव व्यक्त गर्दछन् । कवितामा एउटा समयलाई मात्र चित्रण गरेका छैनन् सदाबहार छन् कवि । राजनीतिक परिवर्तनलाई आधार मानेर समय सापेक्ष कविता लेख्नभन्दा वर्षौँसम्म टिकिरहने कविता लेख्न रुचाउछन् । कवि मानव जीवनको सुन्दर पक्ष माया, प्रेम सँग पनि उक्तिकै परिचित छन् र प्रेमको उच्च भाव प्रस्तुत गर्छन् ।
मेरो मन
तिम्रो त्यही
कहिल्यै नबद्लिने
तस्वीरसँग
प्रेम गर्छ ।
नवीन प्राचीनका कविता मुक्तकीय संरचनाझैं देखिन्छन् । पढ्दा मन मष्तिस्क दुवैलाई उत्तिकै बेजोडका साथ झंकार दिन सफल छन् । उमेरले दुई कोरी ननाघेका यी कवि उमेरभन्दा बढी व्यवहारिक जीवन भोगाइका कुरा गर्छन् । माया, प्रेम साथै परिवारभन्दा माथि उठेर समाज, देश र सिंगो विश्व पनि समेट्न भ्याएका छन् कवितामा । समाजमा गाडिएर बसेको विकृति, विसंगति, महंगी, कुरीति साथै अभावले मानिसलाई आफैँ बिद्रोही बनाउने र क्रान्तिमा होमिन बाध्य बनाउछ भन्छन् प्राचीन ।
हरेक अभावले
हरेक अव्यवस्थाले
हामीलाई बनाइदिन्छ
चे ग्वेभारा एकै छिन् ।
प्राचीनका कविताहरु संग्रहभरी वैचारिक हिसाबले नवीन विम्बहरुका साथ प्रस्तुत भएका छन् । कविता आफैँमा जटिल लाग्छन् । सामान्य पाठकका लागि उनका कविता लेखिएका होइनन् । कविताभित्र निक्कै गहिरिएर पस्न नसक्नेहरुले यो संग्रह रुचाउदैनन् । साहित्य सर्वमान्य वा सबैका निम्ति हुनु पर्छ भन्ने सन्र्दभले हेर्दा प्राचीनको कमजोरी यहीनेर देखिन्छ । कवितामा विविध सन्र्दभ अटाउन खोजे पनि प्रायः कविताहरुको सन्र्दभ उस्तै लाग्छ । मानव जीवनका साश्वत पक्षलाई समेट्ने प्रयास गरे पनि देश वा माटो भने कमै अटाएको पाइन्छ कवितामा । कवितामा कवि आफ्ना निजात्मक कुरा पनि गर्छन तर पाठकलाई मेरै कुरा गरेको अनुभूति हुन्छ । एक्लै व्यक्तिले आफ्ना हरेक कर्म गर्नु पर्छ, एक्लै एक्लै भएर नै धेरै भइन्छ भन्ने मान्यता बोकेका कवि मानिसहरुका भिडमा एक्लै केही गर्ने अठोटका साथ अगाडि बढेको पाइन्छ त्यसैले संग्रहको नाम उभिएर एक्लै जुराएका छन् । आकारमा मझौला रहेको यो संग्रह १८१ पृष्ठमा समेटिएको छ । रत्न पुस्तक भण्डार प्रकाशक रहेको यस संग्रहको मूल्य रु.२५० राखिएको छ । सामान्यतया नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको भएता पनि छपाइमा कुनै कमजोरी देखिदैन । प्राचीनको आप्mनै किसिमको कवितात्मक शैलीले पाठकहरुलाई सन्तुष्टि दिलाउने अनुमान गर्न सकिन्छ । नेपाली काव्य जगतमा प्राचीनको यो पहिलो प्रयास भए पनि प्रशंसायोग्य देखिन्छ । फाकफोक–४, इलाम

0 comments:
Post a Comment