पर्याप्त वर्षा नहुँदा धानको उत्पादन घट्ने संकेत

इलाम,  साउन: समयमा पर्याप्त वर्षा नहुँदा इलाममा साउन पहिलो साता सम्पन्न भइसक्दा पनि ५२ प्रतिशत मात्र रोपाइ भएको छ । धान रोपाइमा ढिलाई हुँदा यो वर्ष करिब २० प्रतिशतले धानको उत्पादनमा कमी आउने कृषि विकास कार्यालयको अनुमान छ । इलाममा धान रोपाइ हुने कुल १५ हजार ९ सय १५ हेक्टर मध्ये ८ हजार ३ सय १७ हेक्टर (५२.१४५) मात्र रोपाइ सम्पन्न भएको छ । सामान्यतया इलाममा साउन दोश्रो सातासम्ममा रोपाइ सम्पन्न हुनुपर्नेमा साउन पहिलो सातासम्म ५२ प्रतिशतमात्र रोपाइ भएकाले धानको उत्पादनमा गिरावट आउने योजना अधिकृत प्रकाशमणी काफलेले बताए । गत बर्ष यस अवधीमा इलाममा करिव ७० प्रतिशत रोपाइ सम्पन्न भएको थियो ।
६ हजार ७ सय ९५ हेक्टरमा बर्षभरी सिचाईं
इलामको कुल ६३ हजार २ सय ९७ हेक्टर खेती योग्य जमिन मध्ये ६ हजार ७ सय ९५ हेक्टरमा मात्र वर्षभरी सिचाईं हुन्छ । अन्य बाँकी खेतीयोग्य जमिनका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांक अनुसार ४ हजार ५ सय हेक्टरमा मौसमी सिचाईं हुने भएपनि ५१ हजार ९ सय ९९ हेक्टरमा सिचाइ सुविधा पुग्न सकेको छैन । सिचाइ सुविधाको लागी ग्रामिण क्षेत्रमा करोडौको लागतमा कुलोहरु निर्माण गरिए पनि इलामका खेतीयोग्य जमिनका लागी पर्याप्त नभएको योजना अधिकृत काफलले बताए । गत वर्ष ४९ हजार १ सय मेट्रिक टन धान उत्पादन
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष इलाममा ४९ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको थियो । ६३ हजार २ सय ९७ कुल खेतीयोग्य जमिन मध्ये १५ हजार ९ सय १५ हेक्टरमा धान खेती गर्ने गरिएको छ । आर्थिक बर्ष ०७२÷७३ मा १५ हजार ९ सय हेक्टरमा ४६ हजार ४ सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक बर्ष ०७१÷७२ मा इलाममा ५० हजार १ सय २४ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङक छ ।
मुलुकमै सबैभन्दा बढी झापा जिल्लामा १ लाख ७ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको छ । जसमा ५ लाख १७ हजार ९ सय ६५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । इलामको सुर्योदय, देउमाइ, माइ, नगरपालिकामा बढी धान खेती बढी गरिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता