लघुकथा

कोषवल्लभ रेग्मी
कतैबाट घुम्दै आएको बेवारिसे एउटा बाह्र, तेह्र वर्षको किशोर पल्लो घरमा कामदार भएर बसेको थियो । ऊ त्यो घरको सबै काम गर्ने गथ्र्यो । तै पनि घरबेटीहरुले उसलाई दोष दिन छाड्दैनथे । कहिले– “गाई भोकै ल्यायो.....! ढिलो उठ्छस्....!!...यो भएन त्यो भएन...!!!” आदि–आदि भन्दै कराइ रहन्थे ।
उसको सक्कली नाम के थियो कुन्नि ? हामीलाई थाहा थिएन । तर हामी उसलाई “साने” भनेर बोलाउने गथ्र्यौ । ऊ हामीसँगै गोठालो गर्न जङ्गल जाने गथ्र्यो ।
हामी कहिले भुटेको मकै, कहिले चिउरा आदि खाजा लिएर गोठालो जाने गथ्र्यौ । तर सानेलाई उसको मालिकले केही नदिई गोठालो पठाउँथे । हामीले दिएको एक मुठ्ठी खाजा उ खाने गथ्र्यो । तर उसले हामीसँग कहिल्यै माग्न चाही माग्दैनथ्यो । हामीले दिएको त्यही एक मुठ्ठी खाजालाई आधार बनाएर हामी उसलाई गाई, बाख्रा फिराउने, धपाउने काममा कज्याउने गथ्र्यौ । ऊ पनि केही नभनी लुरुलुरु अराएको काम गर्ने गथ्र्यो । तर ऊ कता–कता खिन्न जस्तो देखिन्थ्यो । त्यसको वास्ता हामीले कहिल्यै गरेनौ ।
एकदिन म बारीमा मकै गोड्ने, छाँट्ने काम गरिरहेको थिएँ । साने अचानक मेरो अगाडि देखा पर्यो । ऊ एक टक लाएर म तिर हेरिरहेको थियो ।
यतिकैमा मैले उसलाई “ऐ साने ! के हेरिरहेको ? बरु आइज मलाई मकै गोड्न सघा” भनें ।
उसले “अहँ !” भन्दै मुन्टो बटार्यो ।
“किन, अस्ति मैले गोठालो जाँदा मकै खान दिएको थिइँन !” मैले जंगिएर भने ।
“ए ! त्यही एक मुठ्ठी भुटेको मकैले मैले तिम्रो बारीको मकै गोड्नु ? त्यसले मेरो भविष्य सदाको लागि बन्न सक्छ ?....सबै स्वार्थीहरु......!!!” उसले म तिर आँखा तर्दै बोल्यो ।
“हँ !!!” म झसङ्ग भएँ । बल्ल मलाई बोध भयो । उसलाई हामीले कस्तो व्यवहार गर्नुपर्ने थियो र मानवता के हो ? भन्ने कुरा ।