
माई (दानाबारी), १५ मंसिरः एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थिर सरकार निर्माणका लागि वाम गठबन्धन गरेको बताएका छन् । चुनावपछि वाम गठबन्धनको सरकार बन्ने र त्यसपछि विकास र निर्माणको नयाँ युग सुरु हुने खनालको भनाइ छ । माई नगरपालिकाको दानाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खनालले भने, ‘हिजो मुलुक क्रान्ति र आन्दोलनको युगबाट अघि बढ्यो । अब विकासको गति लिएर अघि बढ्ने छ ।’ खनालले वाम गठबन्धनको सरकारले विकासको नयाँ लहर ल्याएर गरिबीको अन्त्य गर्ने दाबी पनि गरेका छन् । जनताको भाग्य र भविष्य उज्वल बनाउनका लागि वाम गठबन्धन गरेर चुनाव लडिरहेकाले निर्वाचनलाई सफल बनाउनका लागि गतिशील भएर लाग्न पनि खनालले आव्हान गरेका छन् ।
वरिष्ट नेता खनालले कांग्रेसले संविधान जारी हुने बित्तिकै यसको कार्यान्वयन जोड दिनुपर्नेमा विदेशीको अनुकूलतामा संशोधन गर्न खोक्रो बनाउने खेलमा लागेकाले संविधानलाई जोगाउनका लागि पनि बाम गठबन्धन गरेको बताए । वाम गठबन्धनलाई अब बलियो र उन्नत बनाएर एउटै कम्प्युनिष्ट पार्टी बनाएर संविधानको संरक्षण, कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउने पनि खनालले बताए । इलामको गहनाको रुपमा रहेको चिया बगान विदेशीलाई बेचेर इलामको मात्र होइन, देशकै घोर अपमान गरेको आरोप पनि लगाएका छन् ।