
हवाईजहाजबाट भद्रपुर ‘ओर्लिएपछि सोझै झापाकै अर्को शहर बिर्तामोड पुग्नुहोस्, या त सड़कमार्गबाट । पूर्व-पश्चिम राजमार्गको बिर्तामोड वा चारआलीमा इलामका लागि गाडी पाइन्छन्। बिर्तामोडबाट ८३ किलोमिटर टाढाको इलाम पुर्याउन गाडीले सरदर तीन घण्टा लगाउँछ। पहिलो दिन इलाम बजारमै बास बस्नु राम्रो। इलाम बजारमा रु.१७० देखी ४०० सम्ममा मासुभात पाइन्छ। लजमा रु.५५० देखी ३५०० सम्म पर्छ। इलाम बजारबाट बिब्ल्याँटे, माइपोखरी हुँदै दोस्रो दिनको यात्रा शुरु हुन्छ। वा पहिलो दिन नै माइपोखरी बसेर दोस्रो दिनबाट कच्ची बाटोको यात्रा शुरु गर्न पनि सकिन्छ। माइपोखरी बास बस्नेहरूका लागि पाँच सय मिटर पर देउरालीमा होटल, लज खोलिएका छन्। यहाँबाट जसबीरे, कोठी डाँडा हुँदै ल्याण्डरोभरले डेढ घण्टामा खुर्सानीटर पुर्याउँछ। अथवा खुर्सानीटारसम्म पैदल पनि हिँड्न सकिन्छ। यदि तपाई पैदल हिँड्नुभयो भने बीचमा टोड्के झरना हेर्न नभुल्नुहोला। बाटोबाट सय मिटर मुन्तिर इलामको सबैभन्दा लामो ८५ मि. टोड्के झरना भेटिन्छ।
सन्दकपुर यात्राको एउटा बिसौनी खुर्सानीटारलाई मानिन्छ। सात घण्टा लामो उकालो यहीँबाट शुरु हुन्छ, जहाँ गाडी चल्दैन। तपाईसँग ठूलो भारी छ भने खुर्सानीटारमा रु.३०० सम्ममा भरिया पाउन सकिन्छ। तर, उकालोमा कुनै घर वस्ती नभएकाले खानेकुरा साथै लैजानु राम्रो।
बाटोमा घर भेटिँदैनन्, सुस्ताउनका लागि गोठ भने प्रशस्त छन्। चौरी र भेडाको लस्कर यात्राका साथी बन्न आइपुग्छन्। एकै सासमा सात घण्टाको उकालो चढ्न सकिँदैन भने, बीचमा छ कालपोखरी। कालपोखरीमा होटल, लज पाइन्छन्। एक रात कालपोखरीमा बास बसेर पनि बाँकी उकालो उक्लिन सकिन्छ।
यहाँबाट डेढ घण्टाको उकालोमा सन्दकपुर पुगिन्छ। बाटो छेउको जङ्गलमा आक्कल झुक्कल दुर्लभ रेडपाण्डा, बँदेल, भालु पनि देख्न पाइन्छ। यो उकालोमा लेक लाग्ने संभावना अधिक मानिन्छ, यसैले मकैको सातु बोक्नु बेस हुन्छ। सात घण्टाको उकालो उक्लिएपछि आइपुग्छ, तपाईको गन्तव्य सन्दकपुर। तपाईले रोजीरोजी, सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईका फाँट हेरेर आनन्द लिन सक्नुहुन्छ। सन्दकपुरमा नेपालतर्फ दुई वटा होटल छन्।
भारतपट्टि भने अलि धेरै छन् तर रेट दुवैतिर बराबर जस्तै छ। त्यहाँको बस्ने खाने दररेट चाही अत्यधिक महँगो छ । यहाँको असली आनन्द भने चौरमा पाल टाँगेर बस्नुमा मानिन्छ। अथवा यहाँ एउटा यात्री भवन पनि छ, जहाँ रु.५ देखि १०मा एक रात सुत्न पाइन्छ।
सन्दकपुर पुगिसकेपछि तपाई गएको बाटो छाडेर अर्कै बाटो घुम्दै फर्किन पनि सक्नुहुन्छ। थुप्रै डाँडाको शिर र भञ्ज्याङ हुँदै अघि बढ्ने यो बाटो पशुपतिनगर निस्किन्छ।
जौबारी, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ बीचमा पर्ने स्टेशन हुन्। अर्को बाटो छ छिन्टापुको।
२,९४६ मिटर उचाइमा रहेको छिन्तापुबाट पूर्वाञ्चलका सबै १६ जिल्ला देखिन्छन्। यहाँबाट माइपोखरी निस्किएर इलाम बजार झर्न पनि सकिन्छ।
सन्दकपुर जादा मुख्य ध्यान दिनु पर्ने मुख्य कुरा के हो भने उच्च ऐल्टिटूडमा जादा समस्या हुनेहरूले सातु, मिस्री र अदुवा बोक्नुहोला ।
माइखोलाको शिर, अति पवित्र तथा धार्मिक महत्वको माइको शिर सन्दकपुरमै पर्छ ।
Photo: Pujan Gurung
सुदिप श्रेष्ठको फेसवुकवालबाट