धर्म गुरुआमाको जन्म जयन्तीमा खेलकुद हुने

इलाम ११ माघः किरात धर्मगुरु साँबा पवित्रहाङ्मा लिङ्देनको जन्मोत्सवको अवसरमा गोल्डकप र अन्य खेलकुद प्रतियोगिता हुने भएको छ । लिङ्देनको ६२ औँ जन्मोत्सवको अवसरमा माङ्सेबुङ गाउँपालिका ५ मा प्रतियोगिता हुने भएको हो । सबै प्रतियोगितात्मक कार्यक्रममा महिलाले मात्र सहभागिता जनाउन पाउने छन् । चियाबारी दैनिकको कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा आयोजक समिति अध्यक्ष मनकुमार आङ्बुहाङले जन्मोत्सवको अवसरमा गरिने यो प्रतियोगिता आठौँ भएको जानकारी दिए । 
जन्मोत्सवको अवसरमा ‘पवित्रहाङ्मा रनिङ गोल्डकप ८ औँ संस्करण खेलकुद प्रतियोगिता’ अन्तर्गत म्याराथुन दौड, छेलो, म्युजिकल चेयर, हाँडी फुटाउने, लठ्ठा तान्ने लगायतका प्रतियोगिता सञ्चालन गर्ने बताइएको छ । आमन्त्रित फुटबल प्रतियोगितामा पूर्वाञ्चलका जम्मा आठ टीमको सहभागिता रहने आयोजक किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष आङ्बुहाङले जानकारी दिए । 
फुटबल प्रतियोगिताको विजेता टीमले नगद ६२ हजार १ सय ६२ पाउने छ भने ३५ हजार १ सय ६२ पाउने छन् । प्रतियोगिता अवधिभरमा सर्वाधित गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकलाई ३ हजार १ सय ६२ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । माघ २४ गते उद्घाटन खेलकुदको फाइनल खेल प्रतियोगिता फागुन २ गते गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने र सबै आर्थिक सहयोग जुटाउने साथै धार्मिक श्रोत साधनबाट रकम संकलन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता