
इलाम, ६ साउनः राहसल बाल अनाथालय इलाममा आश्रित बालबालिकाहरुको मुहारमा छुट्टै कान्ति देखिन्थ्यो इलाम बजारमा । आइतबार बिहान इलाम सदरमुकामको चोकमा भेटिएका उनीहरु आफ्ना साथीहरुसँग खुसी बाड्दै थिए । उनीहरुलाई लिन आएको यात्रुवाहक गाडी वरिपरि बसेर खुसी मनाइरहेका उनीहरुलाई राम्रो लाउन दिएर र मिठो खान दिएर उनीहरुको मुहारमा चमक आएको जो कसैले अनुमान लगाउन सक्थ्यो । तर वास्तविकता त्यो थिएन । उनीहरुलाई कोही दानविरले पूर्वका बालकुञ्जहरु र मन्दिरहरुको भ्रमणमा लग्न लागेको खुसी छाएको थियो उनीहरुको मुहारमा । ती दानविर अरु कोही नभएर बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई पटक पटक तिर्थाटन गराएर चर्चा बटुलेका इलामका युवा समाजसेवी सुमन श्रेष्ठ थिए । राहसल बाल अनाथालय इलाममा आश्रित १५ भध्ये १३ जना बालबालिकालाई श्रेष्ठले आइतबार पूर्वका बालकुञ्जहरु र मन्दिरहरुको भ्रमणमा लगेका हुन् । “२ जना बालबालिका धेरै सानो भएकाले लान सकेनौं”, अनाथालयका अध्यक्ष राजेन्द्र चौहानले भने । उनले थपे, “दाताहरु त धेरै प्रकृतिका आउनुहुन्छ सहयोग गर्न, तर यो छुट्टै प्रकृतिको भयो, यस्ता घुमघामले अनाथालयका बालबालिकाले पनि अरु बालकालिका समान आफुलाई महसुस गर्न सक्छन् ।”
बेसाहारालाई सहयोग गर्न पाउदा आफु हर्षित भएको दानवीर सुमन श्रेष्ठले प्रतिकृया दिए । उनले भने, “मेरो मनले अह्राएको कुरा मात्र गरेको हुँ, म बेसहारालाई सहयोग गर्न पाउदा सन्तुष्ट छु ।” पेशाले निर्माण ब्यवसायी सुमन श्रेष्ठले यसअघि माइभगवती बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई हेलिकप्टर चार्टर गरेर ताप्लेजुङको पाथिभरा मन्दिर भ्रमण साथै पशुपतिनाथ दर्शन गराएका थिए । उनले गरिब तथा असहायलाई चामल, मट्टितेल तथा लत्ताकपडा समेत वितरण गर्दै आएका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न बालकुञ्जहरु, ताल तलैयाहरु, वनभोज स्थलहरु र मन्दिरहरुको २ दिनको भ्रमणपछि उनीहरु पुनः अनाथालय फर्किनेछन्