
भद्रपुर १४ असोजः नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी झापा प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुरक्षा योजना अघि सारेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वका बेला आपराधिक क्रियाकलाप बढी हुने गरेकाले सुरक्षा व्यवस्था थप मजबुद बनाइएको बताए ।
‘चाडपर्वहरुको अवसरमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका एवम् जेष्ठ नागरिकको अधिकारको सम्मान जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुद बनाएका छौँ’, प्रउ ढकालले भने, ‘पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन र अप्रिय घटना हुन नदिन प्रहरीको दुरुस्त र योजनाबद्ध परिचालन, अनुगमन र नियन्त्रण आवश्यक हुन्छ ।’
प्रहरीले चाडपर्वको नाममा हुने मादक पदार्थ सेवन, तासजुवा लगायतका गतिविधि नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने जनाएको छ । कार्यालयले बैंक, वित्तीय संस्थामा सादा पोशाकमा हतियारसहितका प्रहरी खाटाउने भएको छ भने चौबीसै घण्टा गाडी र मोटरसाइकल गस्ती परिचालन गर्ने जनाएको छ ।
त्यस्तै, सुरक्षा व्यवस्था मजबुद बनाउन तालिमप्राप्त कुकुर परिचालन, बैंक, वित्तीय क्षेत्र, पसल, प्रतिष्ठान, कार्यालयका सुरक्षा गार्डलाई तालिम, ट्राफिक चेकिङको विस्तार गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानाए ।
जिल्लाभर रिजर्भ, स्टाइकिङ, मोबायल गाडी गस्ती, अनुगमन गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, चेकप्वाइन्ट, लामो गस्ती, छोटो गस्ती, पिकेट, आकस्मिक चेकिङ र सादा पोशाक गरी १६९ स्थानमा ८३७ जना जनशक्ति परिचालन गरिने कार्यालयले जनाएको छ ।
राजमार्ग तथा सहायक राजमार्गका क्षेत्र, शहरी क्षेत्र तथा मुख्य चोकहरु, भद्रपुर, काँकरभिट्टा, बिर्तामोड र दमकको बसपार्क क्षेत्रमा विशेष निगरानी गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।