इलाम, १४ असोजः साइकल लिएर सन्दकपुर ! हिउदको समयमा गाडी चढेर सन्दकपुर पुग्नेलाई त कल्पनै गर्दा पनि कहाली नै लाग्ला, मोटरसाईकल लिएर सन्दकपुर पुग्नेहरु पनि साइकलमा सन्दकपुर जाने कल्पना मात्रै सायद गर्छन् । साईकल लिएर सन्दकपुरको यात्रा, त्यसमा पनि एक्लो जवान महिला । यसअघि नै साइकल लिएर एक्लै सन्दकपुर पुगेका समिर चौधरीले सन्दकपुर जान सुझाव दिएको सम्झदा पनि घरि घरि उनलाई रिस उठ्थ्यो । माइपोखरी, देउराली हुँदै माइमझुवामा भेटिने माइखोला पुग्दासम्म त उनलाई त्यस्तो महसुस भएको थिए । माइखोलादेखिको त्यो एकलासको उकालो कति बेला छिचोलेर कालपोखरी पुगौं भएको थियो उनलाई ।
पिउने पानीको बोटलमा दुलो परेका कारण पानी विना आठ घण्टाको यात्रा गरेपछि उनी कालपोखरी पुगेकी थिइन् । देउरालीबाट विहान झिसमिसेमै उकालिएकी अनिशालाई कालपोखरी पुगेर सेलिब्रेट गर्ने ठूलो इच्छा थियो । तर कालपोखरीको कुनै एक घरमा मरण परेका कारण उनले त्यो समयलाई सेलिब्रेट गर्नै पाईनन् । उनी भन्छिन्, ‘आठ आठ घण्टा, घरि साईकल कुदाएर, घरि ठेलेर त घरि बोकेर बल्ल बल्ल कालपोखरी पुगे, कस्तो सेलिब्रेट गर्ने सोच थियो, ब्याड लक ! गाउँमा मराउ परेका कारण त्यो हुन पाएन ।’ उनलाई कालपोखरीका इलामेहरुको आतिथ्यता गज्जब लाग्यो । उनले थपिन्, ‘गाउँनै पुरै शोकमग्न भएको अवस्थामा पनि वहाँहरुले अति राम्रो अनतिथ्यता दर्शाउनु भयो कि !, शब्दमा बयान गर्नै सक्दिन ।’
मौसमका कारण सन्दकपुर पुगेर सुर्योदय हेर्न नपाएको नमज्जा उनको मनमै गढेको छ । तर सन्दकपुरबाट देखिने त्यो बादलको सागर, अनि कञ्चनजङ्घा, कुम्भकर्णसँगै विश्वकै अग्लो शिखर सगरमाथाको दृष्य उनको आँखामा झलझली छ ।
इलामकै तुम्लिङ, टङ्लु, मानेभञ्ज्याङ, फाटक उनको फर्कने रुट बन्यो । उनी भन्छिन्, ‘सन्दकपुर रुट साईकलयात्रीको लागि उत्कृष्ट रुट हो । मानिसहरु खाली मनाङ र मुस्ताङ मात्र साईकल यात्रा गर्छन्, यति नजिकैको सन्दकपुर साईकल रुटको चर्चा हुनु जरुरी छ ।’ उनले सन्दकपुरलाई देशकै उत्कृष्ट साईकलको रुटको रुपमा विकास गर्न यहाँका स्थानीयले पहल गर्नुपर्ने बताईन् । एक्लो महिला साइकल लिएर सन्दकपुर पुग्न पाएकोमा उनी खुसी छिन् । आफ्नो सपनासँग अडिक हुन, आफुमाथि विश्वास गर्न सकियो भने महिलालाई पनि सफलताको उचाईमा पुग्न कसैले रोक्न नसक्ने उनी बताउन्छिन् । उनी भन्छिन्, ‘सहासिक र शारिरीक काम गर्न जेण्डरले कुनै फरक पर्दैन, पार्नु पनि हुँदैन ।’
पाख्रिबास धनकुटाकी अनिशा गुरुङ उमेरले भर्खर २० टेकेकी छिन् । ९ महिना यता मात्र धरानका साथीभाईहरुसँगको संगत र आफ्नो लगावका कारण उनले व्यवसायिक साइकल यात्रा गर्न थालेकी हुन् । यहि पछिल्लो ९ महिनामा धरान नगरपालिकाले आयोजना गरेको प्रदेश स्तरीय प्रथम मेयर कप साईक्लिङ च्याम्पियनशिपमा दोश्रो पुरस्कार जितेकी अनिशाले धरानमै आयोजना गरिएको अर्को मोटिभेसनल साइकल रेसमा प्रथम स्थान ओगटिन् । साइकल लिएरै सोलुखुम्बुको पिके पिक, संखुवासभाको गुफापोखरी, धनकुटाको राजारानी पुगिसकेकी अनिशाको सन्दकपुर यात्रा भने पहिलो एक्लो साइकल यात्रा हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सर्जन तथा साइक्लिष्ट समिर चौधरीले यात्राका क्रममा उनलाई प्राविधिक सहयोग गरेका थिए । राष्ट्रिय र अन्तराष्ट्रिय साइकल प्रतियोगितामा भाग लिएर देशको नाम राख्ने उनको लक्ष छ । भर्खर मात्र विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरेकी अनिशा केहि हप्ता पछि दार्जिलिङमा आयोजना हुने साईकल प्रतियोगितामा भाग लिन समेत जादैछिन् ।