भद्रपुरमा मेची आँखा उपचार केन्द्र

सैनिकमोड, ९ मंसिरः आँखाको सस्तो र भरपर्दो उपचारका लागि ख्याति कमाएको झापा, विर्तामोडस्थित मेची आँखा अस्पतालले सदरमुकाम भद्रपुरमा उपकरणसहितको सेवा विस्तार गरेको छ ।
स्थानीय दानवीर सत्यनारायण सरियाले एक बिगाहा जग्गा निःशुल्क उपलब्ध गराएपछि भद्रपुर–५ मा भवन निर्माण गरी त्यही भवनबाट शुक्रबारदेखि आँखाको उपचार सेवा शुरु गरिएको हो । 
एक समारोहका बीच मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलको अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रमुख अतिथि जग्गादाता सरियाले नै नवनिर्मित भवन र उपचार सेवा सञ्चालनको उद्घाटन गरे । 
अस्पतालका कर्मचारी युवराज बोहराले सञ्चालन र संघका सदस्य चण्डीप्रसाद पराजुलीले स्वागत गरेको समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले अस्पतालले प्रदान गर्दै आएको सेवा बारे जानकारी दिएका थिए । उनले अस्पतालले विद्यालयस्तरमा गरिने आँखा शिविरका बारे पनि जानकारी गराएका थिए । ‘तीन वर्षभित्र दुई लाख विद्यार्थीको आँखा परीक्षण गर्ने योजना छ’, उनले भने– ‘यसले विद्यार्थीको आँखाको अवस्था बुझिनेछ र सोहीअनुसार आँखाको हेरचाह गर्ने सुझाव दिइनेछ ।’
भद्रपुरमा स्थापित आँखा उपचार केन्द्रबाट दक्षिणी झापालगायत साीमावर्ती गलगलिया, किशनगंज, ठाकुरगञ्जसम्मका बिरामीले सहज ढंगबाट सेवा पाउने अपेक्षा गरिएको संघका सदस्य पराजुलीले बताए । मेची आँखा अस्पतालको शुरुआत भद्रपुरबाटै भएको थियो । बिरामीको चाप निकै बढ्न थालेपछि बृहत रुपमा सेवा सञ्चालन गर्ने गरी विर्तामोडमा सारिएको बताइन्छ । अब भद्रपुरबाट  पनि शल्यक्रियालगायतका सेवा प्रलान गर्ने गरी व्यवस्थापन अघि बढाइने अध्यक्ष मित्तलले बताए ।
एकतले उपचार केन्द्र भवन निर्माणका लागि ५५ लाख खर्च भएको छ भने विभिन्न मेशिनरी जडानका लागि ११ लाख खर्च भएको अस्पतालका प्रशासन प्रमुख सुरजकुमार रौनियारले जानकारी दिए । जग्गादाता सरियाले उपचार केन्द्र व्यवस्थापनका लागि आफ्नो तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । उनलाई समारोहमा अभिनन्दन पनि गरिएको थियो ।
भद्रपुरका प्रतिष्ठित उद्योगी–व्यवसायी, समाजसेवी, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको समारोहमा नेदरल्याण्ड आइकेयर फाउण्डेशनका कार्यकारी निर्देशक विजोन स्टेभेनले मेची आँखा अस्पतालले आँखा उपचारको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका बताउँदै फाउण्डेशनका तर्फबाट सक्दो सहयोग रहने बताए । समारोहमा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले आँखाजस्तो संवेदनशील अङ्गको उपचार सेवा भद्रपुरबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै उपचार केन्द्रका लागि भद्रपुर नगरपालिकाको तर्फबाट पनि सहयोग पुर्याइने प्रतिबद्धता जनाइन् । 
अस्पतालका कर्मचारी दृष्टिविहीन सुमन थापा मगरले आफैंले स्वरबद्ध गरेको गीत प्रस्तुत गरेको समारोहमा १ नं प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, आइकेयर फाउण्डेशनका नेपाल प्रमुख अनिल गोर्खाली, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपचार केन्द्र उद्घाटनकै अवसर पारेर लायन्स क्लव अफ भद्रपुरले उपचार केन्द्र परिसरमा निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो । शिविरमा उल्लेख्य रुपमा आँखाका बिरामीले सेवा लिएको र मोतयाविन्दू देखिएका विरामीलाई निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल विर्तामोड पठाइएको क्लवका सुबोध कोठारीले जानकारी दिए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता