चुनाबको बेला गफ शिरोमणी केपि ओलीले भनेका थिए, अमेरिकीहरु DV भरेर नेपाल आउनेछन्

  • कमल न्यौपाने

चुनाबको बेला गफ शिरोमणी  केपि ओलीले भनेका थिए, केहि बर्ष पछि अमेरिकीहरु DV भरेर नेपाल आउनेछन्। यता डिग्रीको सर्टिफ़िकेट झोलामा बोकेर युवाहरु फेरि 2020 DV को फ़ारम भर्दै हिँड्दै छन्। अहिले त सरकारले झन् फुटपाथमै DV को पसल थाप्ने अनुमति पनि दिसकेछ। एक मुठो साग बेचेर दुई रुपैया कमाउन बाटामा बसेकी बुढी आमालाई प्रहरी लगाएर लखेट्ने सरकारले ज्ञान , सीप र योग्यता भएका, शरिरमा बल र जोश भएका देश बनाउने काँधहरुलाई खुलेआम यसरी बाटामा , गल्लीमा र चिया दोकानमा स्टल थापेर बिक्री गरिरहेछ।एकातिर रबिन्द्र मिश्र युवा फ़र्क़ अभियान चलाउँदै छन् भने अर्कोतिर युवाहरु कोहि ब्राण्डमा त कोहि होलसेलमा बिक्रीमा छन्। तर देशको स्थिति यस्तो छ कि ,साथीहरु बेलुका  टिभीमा केपी ओलीको अमेरिकी हरु नेपाल आउने डिभीवाला गफ सुन्छन् र भोलिपल्ट बिहान दोबाटोमा डिभीको लाईन लाग्छन्। तिनै हुन् फेरि जो रबिन्द्र मिश्रले युवाहरुको भलाईका लागि बोल्दा मुखमा आईन्जेल गाली दिन्छन्! अनि बन्छ देश कसरी???
    सत्ताको स्वाद चाखेका लोभी स्वाँठहरु, गरिबको छाती कुल्चेर अग्लिएका भ्रष्ट नेताहरु, राजाको श्रीपेच खोसेर जन्मिएका गणतन्त्रका हान्ने साँडेहरु र राज्यको ढुकुटी दोहन गरेर थन्किएका दाँत फुक्लेका भुपु बाघहरुलाई अब युवाहरुले बोकेर हिँड्न जरुरी छैन। पार्टीको सपथ खाएर आफ्नो भविस्य उजाडेका युवा साथीहरुले अब साँच्चै सोच्ने बेला आएको छ। हामी युवाहरुले यि दलाल नेताहरुको झोला बोकेर कति हिँड्ने? यिनीहरुको पाउ मोलेर कति चाकडी गर्ने? यिनीहरुले दिएको एककप खल्लो चियामा हाम्रो भविस्य कहिलेसम्म डुबाई रहने ? अनि अन्त्यमा रुँदै देश छोडेर कति बिदेश पलायन भैरहने? त्यसैले अब डिभी भरेर अमेरिका जाउँ हैन, आफ्नो देश आफैं बनाउँ भन्ने समय आईसकेको छ।
म पनि छिट्टै फर्कने तयारीमा छु। हामी युवाहरुले अब स्वयंसेवको टिसर्ट लगाएर पार्टीको कार्यक्रममा बुडा  नेतालाई डोर्याउने, रिबन काट्ने कैंची किस्तीमा बोकेर फटाहा नेताका अगाडि शिर झुकाउने, कार्यक्रम सकिएपछि भुँई बढार्ने र फोहोर टिप्ने मात्र काममा आफ्नो उमेर लगानी गर्ने होईन , अब देशको नेतृत्व गर्नतिर अग्रसर हुनु पर्यो । देशका सबै राजनैतिक क्रान्तिहरु युवाहरुको तागतले मात्र सम्भव भएका छन्। अब देश परिवर्तन गर्न पनि बुडाखाडालाई साईड लगाएर युवा नै आउनु पर्छ। उमेरले डाँडा काटेका , रोगले खाईसकेका र मृत्यु नजिकै आईसक्दा पनि पैसा र पदको लागि मरिहत्ते गर्ने राले सिंगाने नेताहरुलाई अबको पाँच बर्षपछि चुनाबमा उठ्नै नदिउँ त, कमसे कम देश बन्दै बनेन भनेपनि बिग्रन बाट थोरै भएपनि जोगिन्छ नि..! जबसम्म हामीले बाँदरे नेताहरुका हातमा देश थमाईदिरहन्छौं, तबसम्म हामीले यसरी नै फुटपाथमा आफूलाई बिक्रीमा राखेर युगौंयुग नाम टिपाईराख्नु पर्छ!
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता