कुहिएर जाने सुपारीको पातबाट थाल बटुका


  • उमाकान्त खनाल 

बुधबारे – नेपालमा पहिलो पल्ट सुपारीको पातको फेदमा हुने, जसलाई स्थानीय भाषामा ठ्याङ भनिन्छ, त्यसबाट एकपल्ट मात्र प्रयोग गर्न मिल्ने थाल बटुका बनाउन सुरु गरिएको करिब पाँच बर्ष पूरा भइसकेको छ ।
करीब २० लाख रुपैयाँको लागतमा झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर २ मा स्थापित उक्त उद्योगबाट उत्पादित थाल बटुका अहिले पूर्वका बजारहरुमा ख्याति कमाउन थालेको छ ।
किसानका बारीमा उसै कुहिएर खेर जाने सुपारीको पातको ठ्याङ उक्त उद्योग स्थापना भएपछि विक्न थालेको छ ।
सुपारीको फुललाई सुरक्षित राख्ने पातसँगै रहेको स्थानीय भाषामा जसलाई ठ्याङ भनिन्छ, त्यो पात सुकेपछि सँगै बोटबाट जमिनमा झर्छ । त्यसैबाट बनेका एकपल्ट मात्र प्रयोग गर्न मिल्ने थाल बटुकाको मूल्य र बनाउने मेसिनका बारेमा बताउँदै बुद्धशान्ति गाउँपालिका २ जयपुरका माधव रिजालले भने, ‘साना बटुका तीन रुपैयाँमा विक्छ भने ठूला चार रुपैयाँदेखि आठ रुपैयाँसम्म विक्छ ।’
अहिले बजारमा प्लास्टिकका थाल बटुका छ्याप्छ्याप्ती विक्री हुने गरेको छ । त्यस्ता सामान प्रयोग गरिसकेपछि वातावरणलाई नराम्रो असर पार्ने हुँदा सुपारीको पातको ठ्याङबाट बनेका थाल बटुकाले पर्यावरणमा कुनै असर नपार्ने विज्ञहरु बताउँछन् ।
उनकै घरमा स्थापना गरिएको उक्त उद्योग नेपालमा पहिलो चोटी भएकोले कतिको सफलता मिलेको छ त, माधव भन्छन्, ‘हामीले बजारको माग अनुसार सामान बनाउन सकेका त छैनौं । तर जति उत्पादन गरेका छौं सबै विक्री हुने गरेको छ ।’
धेरै प्रकारका प्लेट बनाउन नसके पनि आफ्नो क्षमता अनुसार भारतबाट मेसिन आयात गरेर थाल बटुका बनाउन सुरु गरिएको रिजालको भनाई छ ।
माधवका अनुसार सुपारीको पातबाट भारतमा पहिलेदेखि नै थाल बटुका बनाइएको खबर सुन्दै आएका थिए । नेपालमा सोही प्रविधि भित्र्याउन उनले खुब जोश चलेको थियो । सोही अनुरुप उनले दक्षिण भारतबाट मेसिन मगाएर सामान उत्पादन गर्न सुरु गरिएको बताए ।
अहिले झापाका बजारमा सुपारीको पातबाट बनेका थाल बटुका विक्री गर्ने गरिएको उनले बताए । माधवका अनुसार अबको लक्ष्य काठमाण्डौसम्म आफ्ना उत्पादन पुर्याउने रहेको छ ।
नेपाल सुपारी खेति बिकास संस्थाले पनि उद्यमी रिजाललाई मेसिन खरिद गर्न प्रोत्साहन दिएको थियो । रिजाललाई दक्षिण भारतसम्म जानका लागि खर्च उपलब्ध गराएर उक्त उद्योग स्थापनाका लागि सहयोग गरेको थियो ।  देश सञ्चारबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता