गगनले गरे संसदमा प्रश्न दर्ता, सोधे – क्यानको निलम्बन कहिले हट्छ?

काठमाडौं, माघ २२ : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभामा ‘नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन कहिले हट्छ?’ भन्दै प्रश्न दर्ता गराएका छन्।
संविधानसभा र रूपान्तरित संसद अवधिभर संसदमा प्रश्नउत्तरको कार्यक्रम थिएन। तर निर्वाचनपछि बनेको संसदको नियमावलीले सांसदहरूले सरकारका मन्त्री र प्रधानमन्त्रीलाई सांसदहरूले लिखित र मौखिक प्रश्न राख्न सक्ने व्यवस्था गरेको छ।
लिखित प्रश्नको उत्तर मन्त्रीले सांसदहरूलाई लिखित रूपमै दिन्छन्। मौखिक प्रश्नको उत्तर भने संसदको बैठकमा दिनुपर्छ।
थापाले नेपाल क्रिकेट संघको निलम्बरबारे मौखिक प्रश्न राखेका थिए। खेलकुदसम्बन्धी प्रश्न भएकाले अब उनको प्रश्नमा खेलकुद मन्त्री जगत विश्वकर्माले संसदमा जवाफ दिनुपर्छ।
थापाले संसद सचिवालयमा दर्ता गराएको प्रश्नमा सोधिएको छ – सरकारी तवरबाट क्यानको विवाद मिलाउन कै भैरहेको छ?
थापाले नेपालले एकदिवसीय मान्यता प्राप्त गरेको अवस्थामा क्यानको विवाद मिलाउन नसके अवसर गुम्ने उल्लेख गरेका छन्।
‘विवाद नसुल्झिने हो र नेपाललाई आइसीसीले निलम्बनमै राखिरहने हो भने नेपालले पाएको यो मौका खेर जाने निश्चित छ’, थापाले दर्ता गराएको प्रश्नमा भनिएको छ, ‘यही विवादका कारणले सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरू निराश भएको अवस्था रहेको छ। यस विषयमा माननीय मन्त्रीज्यूको धारणा के हो?’
प्रतिनिधि सभाको नियमावली अनुसार अब खेलकुद मन्त्रीले दस दिनभित्र संसदको बैठकमा थापाको प्रश्नमा जवाफ दिनुपर्छ। तर प्रश्न धेरै भएको अवस्थामा भने सभामुखले समय तोकेको बेला मन्त्रीले जवाफ दिनुपर्छ।
सोमबार मात्र युएईमा पहिलोपटक एकदिवसीय र ट्वान्टी ट्वान्टी प्रतियोगिता जितेर क्रिकेट टोली नेपाल फर्किएको हो।
गत भदौ १८ गतेबाट प्रतिनिधि सभामा प्रश्नोत्तर सुरू भएको हो। नयाँ संसदमा पहिलोपटक भएको प्रश्नोत्तरको सामना शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए। उनलाई कांग्रेस सांसदले – प्रमाणपत्र धितो राखेर ऋण कहिले पाइन्छ भनेर सोधेका थिए।
सेतोपाटीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता