भारतीय लोकसभाको निर्वाचनः ११ अप्रिलमा सुरु हुने निर्वाचन सात चरणमा, मतगणना मे २३ देखि


काठमाडौं । सन् २०१९ मा हुने भारतीय लोकसभाको निर्वाचन सात चरणमा हुने भएको छ । भारतका मुख्य निर्वाचन आयुक्त सुनील आरोडाले आइतबार भारतीय लोकसभाको निर्वाचनको मिति सार्वजनिक गरेका हुन् ।
११ अप्रिलबाट सुरु हुने पहिलो चरणको र १९ मे मा सातौं चरणको निर्वाचन सम्पन्न हुने छ भने मतगणना २३ मेदेखि सुरु हुने छ । १७ औं लोकसभा गठनका लागि करिब १९ करोड भारतीयले मतदान गर्नेछन् ।
१८ देखि १९ वर्षका करिब डेढ करोड मतदाताले पहिलो पटक मतदान गर्ने समेत मुख्य निर्वाचन आयुक्तले जानकारी दिएका छन् । दश लाख मतदान केन्द्रमार्फत मतदान गराइने भएको छ ।
भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरी पाँच बर्षका लागि नयाँ संसद र सरकार गठन हुनेछ ।
नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धीबीच प्रतिश्पर्धा हुने देखिएको छ । उनीहरुको बाहेक देशभरी सय भन्दा बढी पार्टीहरु पनि प्रतिश्पर्धामा रहने अधिकारीहरुले बताएका छन् ।
यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता