
काठमाडौं, २३ पुस । नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली रहने छ । देशका केही स्थानमा हल्का वर्षा र केही ठाउँमा मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएके छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पूर्व, पश्चिम र मध्य क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना पनि रहेको छ। बुधबार राति पनि देशभरको मौसममा सुधार नहुने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार राति मौसम सामान्य बदली रही देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ । मौसद बदली बिहीबार पनि रहने छ।