इरानमा १ सय ८० यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका

एजेन्सी, २३ पुस । इरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ । हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । क्षतिको विवरण आइसकेको छैन ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ्ग ७३७ विमान इरानकाे इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएकाे हाे ।

सबै यात्रुको मृत्यु भएको आशंका
१७० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्य मारिएको आशंका गरिएको छ। स्थानीय समयअनुसार बुधबार बिहान सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको थियो।
दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए । उद्धारकर्ता टाेलीलाई हवाई जहाज दुर्घटना भएकाे ठाउँमा पठाइएकाे छ । तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न सकिएको छैन।
इरानमा रेडक्रसको काम गर्ने इरान रेड क्रिसेन्टले दुर्घटनामा कोही बाँच्ने सम्भावना नरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ।
इरानको सञ्चारमाध्यमकाे अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटना भएकाे हाे । तर याे दुर्घटनालाई लिएर अमेरिका–इरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ ।
विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता