अपहरणसम्बन्धी उजुरी दर्ता भएन, राज्य नै अपराधीकरणमा लागेको बाबुराम भट्टराईको आरोप


काठमाडौं, १४ बैशाख । महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
कानून र विधि नपुगेको भन्दै र घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै परिसरले उजुरी लिन नमानेको हो ।
आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण श्रेष्ठ किसान र नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन टेकु पुगेका थिए ।
उजुरी लिन नमानेपछि जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राज्य नै अपराधीकरणमा लागेको यसले पुष्टि गरेको आरोप लगाउनु भयो ।
उहाँले स्वयं सरकारवादी हुने यस प्रकारको मुद्दामा उजुरी नै लिन नमानेपछि सरकारको चरित्र उदाङ्गो भएको बताउनुभयो । उहाँले सरकार नै लोकतन्त्रको उपलब्धि रक्षा गर्न नभइ गुमाउने सोंचमा देखिएको आरोप लगाउँदै राज्यमाथि विश्वास गर्ने सबै आधार हराएको बताउनुभयो ।
यसैगरी अपहरणमा परिएको भनिएका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र यादवले सबै प्रमाण र कानूनी आधारहरु सबै हुँदा हुँदै पनि उजुरी लिन नमानेर प्रहरीले कानूनको उपहास गरेको आरोप लगाउनु भयो ।
उहाँले महोत्तरीमा गएर उजुरी दिन भनिएको बताउँदै अपहरणका सबै प्रमाण हुँदा हुँदै पनि सरकारले विधिको शासनको धज्जी उडाएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता