विस्फाेटक पदार्थ पड्किँदा एक अबोध बालक घाइते


कञ्चनपुर, २४ बैशाख । विस्फाेटक पदार्थ पड्किँदा कञ्चनपुरका एक अबोध बालक घाईते भएका छन् । बुधबार बिहान महाकाली नगरपालिका- ३ दोधाराका ९ बर्षिया बालक महेन्द्र नेपाली घाईते भएका हुन् ।
लकडाउनका बेला विद्यालय बन्द भएपछि गाउँमा खेल्न गएका बालक महाकाली नगरपालिका- ६ शान्तिटोलको पटेराघारीमा भेटिएको संस्कास्द बस्तु खेलाउने क्रममा उक्त वस्तु पड्किएपछि ती बालक घाइते भएका हुन् ।
महाकाली नगरका प्रवक्ता दिल बहादुर सिंजालीले खेल्न गएका बालक महेन्द्रले नौलो बस्तु फेला पारेपछि समातेर ल्याएको बताए । ‘नजिकैको पटेराघारीमा फेला परेको बस्तु खेलाउने क्रममा पड्किँदा बालक घाइते भए,’ प्रवक्ता सिंजालीले भने, ‘अहिले बालकको सेती अस्पतालमा उपचार भईरहेको छ ।’
उनकाे दुवै हातमा गम्भीर चोट लागेको प्रवक्ता सिंजालीले बताए । घटनास्थलमा नेपाली सेना र प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्थानीयका अनुसार शिकारी बँदेल मार्ने महाकाली नगरका केही शिकारीले उक्त क्षेत्रमा परम्परागत पड्किने बस्तुकाे धराप बनाएको बताएका छन् ।
शिकार गर्न र जंगली जनावरलाई उक्त बस्तु खान दिएर मुखभित्र चपाउने क्रममा पटकिने र माछा मार्न समेत सहज हुने भएपछि शिकारीले माछा वा जंगली जनावर मार्नका लागि बनाएको हुनसक्ने आशंका गरिएको छ ।
तर, प्रहरी र सेनाले भने कसले किन के उद्देश्यका लागि उक्त धराप त्यहाँ ल्याएर राखेको हाे भन्ने विषयमा अनुसन्धान थालेको बताएका छन् ।
कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले उक्त बस्तु बम नभई लो एक्सप्लाेसिप बस्तु भएको बताए । प्रवक्ता पौडेलले पनि घटनाको अनुसन्धान भईरहेको भन्दै उक्त बस्तु राख्ने समुह, व्यक्तिको खोजिकार्य भईरहेको बताए ।
शिकारी वा कुनै अन्य व्यक्ति समुहबाट राखिएको विस्फाेटक पदार्थ पड्किँदा अबोध बालक घाईते भएको भन्दै स्थानीयले समेत यस्ता समुहको खोजिकार्य गरेर कारबाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता