दाङमा दुई स्वास्थ्यकर्मीसहित थप नौ जनामा कोरोना संक्रमणको पुष्टि


दाङ, १८ जेठ । दाङमा आइतबार थप ९ जनामा कोरोना पोजिटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पीसीआर परीक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
दाङमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संंक्रमण देखिएकोे छ । देउखुरीको गढवा गाउँपालिका–६ मा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु मध्य लमही नगरपालिका–१ का ४० बर्षीय पुरुष र राप्ती गाउँपालिका–८ निवासी ३६ बर्षीय पुरुष रहेका छन । आइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा आइतवार कोरोना भाइरसको संक्रमण देखिएको गढवा गाउँपालिकाले जनाएको छ । प्राप्त जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ । योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका प्राय सबै भारतबाट भरखरै मात्र आएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता