चीनमा भन्दा भारतमा बढी कोरोना संक्रमित, नेपालका लागि ठूलो जोखिम


काठमाडाैं, ३ जेठ । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या भारतमा चीनको भन्दा पनि बढी पुगेको छ ।
पछिल्लो विवरणअनुसार कोरोना संक्रमित भारतमा ८५ हजार ७ सय ८४ पुगेका छन् । कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनमा भने ८२ हजार ९ सय ३३ जनालाई यसको संक्रमण भएको छ ।
त्यस्तै, चीनमा अहिलेसम्म ४,६३३ जनाले ज्यान गुमाएका छन् भने भारतमा कोरोना मृत्युको संख्या २,७५३ पुगेको छ । पछिल्लाे २४ घण्टामा मात्र भारतमा ३ हजार ७ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ४ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।
भारतमा अहिले ५२ हजार ७७३ जनामा कोरोना भाइरस सक्रिय छ भने चीनमा भने अहिले ९१ जनामा मात्रै काेराेना सक्रिय रहेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।
कुल संक्रमितमध्ये भारतमा ३० हजार २५८ जना उपचारपछि निकाे भएर घर फिर्किएका छन् भने चीनमा ७८ हजार २०९ जना पूर्णरूपमा निकाे भइसकेका छन् ।
खुला सीमाका कारण नेपालमा काेराेना संक्रमण बढ्दाे
नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन् ।
नेपालसँग खुला सीमाना भएको र आवातजावात पनि सहजै हुनसक्ने छिमेकी देश भएका कारण भारतमा बढ्दै गएको कोरोना संक्रमणको दरले नेपाल पनि जोखिममा परेकाे छ । नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।
खुला सीमा भएकाले भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै गएकाे छ । नेपालकाे २६ जिल्ला भारतीय सिमासँग जाेडिएकाे छ । २६ जिल्लामध्ये १४ जिल्लामा अहिलाे काेराेनाभाइरस देखा परेकाे छ ।
अहिले नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २६७ पुगेको छ । २६७ मध्ये २१० जना भारतसँग जाेडिएकाे जिल्लाहरूमा भेटिएका छन् । सबैभन्दा बढी पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 
यसैगरी भारतसँग जाेडिएकै कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, बारामा ३, धनुषामा ४, रौतहटमा ३, कैलालीमा ४, महोत्तरीमा २, कञ्चनपुरमा १, बर्दियामा १, नवलपरासी (पश्चिम) मा १ सप्तरीमा १, सर्लाहीमा १ जना संक्रमित भएका छन् ।
नेपाल र भारत दुवै सरकारले लकडाउन गरेर आवतजावत बन्द गराए पनि पैदलै हिँडेर सिमामा आइरहेका नेपालीको संख्या कम छैन । नेपाल र भारतले लगभग सँगसँगै देशव्यापी लकडाउन सुरू गरेको हो ।
नेपाली मात्रै होइन भारतीय नागरिकलाई पनि नेपाल आइरहेकाे पाइन्छ । खुला सीमाका कारण कति नेपाली र भारतीय नागरिक सुटुक्क नेपाल प्रवेश गरिरहेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्यहाँबाट हुनसक्ने आवातजावतलाई रोक्न सकिरहेकाे छैन । भारतबाट लुकीछिपी नेपाल आउने नेपाली नागरिककै पनि निगरानी गर्ने कठिन बनेकाे छ ।
भारतसँग जाेडिएका जिल्लाहरू
भारतसँग नेपालका प्रदेशहरु १, २, बागमती, ५ र सुदूरपश्चिमको सीमाना जोडिएका छन् । सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा उत्तराखण्डसँग जोडिएका छन् । यही प्रदेशको कञ्चनपुर र कैलालीसँगै प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी(पश्चिम) उत्तर प्रदेशसँग जोडिएको छ ।
बिहारसँग बागमती प्रदेशको चितवन; प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी र प्रदेश नम्बर १ को सुनसरी र मोरङ जोडिएका छन् । पश्चिम बंगालसँग प्रदेश १ का झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोडिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता