आज किरात समुदायकाे महान पर्व उभाैली : नाच स्थगित, लकडाउन पालना गरी मनाउन राष्ट्रपतिको आग्रह


काठमाडाैं, २५ वैशाख । प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।
बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ ।
उभौली पर्वको अवसरमा अवसरमा परम्परागत वेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । तर यो पटक उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् ।  कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउँदै छन् ।
किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले भन्नुभयाे, ‘कोरोना कारण लकडाउन गरिएकाले सार्वजनिक ठाउँ नाचगान नगर्ने निर्णय गरेएका छाैँ, घर-घरमा पूजा गर्ने, अनि सकेला पूजाथानहरुमा चहिँ पुजारी नछुङहरुले मात्रै पुजा गर्नेछन् ।’ किरात समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गरेका छन् ।
यसअघि याे पर्वको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाई, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नचिने गरिन्थ्याे । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्ने गरिँथ्याे ।
साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ । साकेला पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, लगायत जिल्लाका किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।
यसैबीच राष्ट्रपति विद्या देवि भण्डारीले किरात समुदायको महान् पर्व उभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएकाे छ ।
प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका सांस्कृतिक पर्वले प्रकृति र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नाका साथै हाम्रो देशको सांस्कृतिक विविधतालाई कायम राखी समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्‌भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्‍ने विश्वास उहाँले व्यक्त गर्नुभएकाे छ ।
कोभिड –१९को रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको यस असहज परिस्थितिमा सरकारको आग्रहबमोजिम सोको पालना गर्दै सबैले सामाजिक तथा भौतिक दूरी कायम गरी आआफ्ना घरभित्रै रहेर पर्व मनाउने अपेक्षा राष्ट्रपतिले राख्नु भएकाे छ ।
उभौलीलाई राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् । पछिल्लो समय जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै सबै जातजाति उभौली चाडको खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्न थालेका छन् । आफन्त, साथीभाइ, नातागोता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीच शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता