नारायणी अस्पतालका २७ जना कर्मचारी सहित वीरगन्जमा ५३ जनामा कोरोना पुष्टि


वीरगन्ज, १५ साउन । वीरगन्जमा नेपाली सेना, कैदी तथा स्वासथ्यकर्मी सहित थप ५३ जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको पिसिआर रिपोर्ट अनुसार नारायणी अस्पतालका २७ जना कर्मचारी सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका एक महिला चिकित्सक तथा २ जना चिकित्सक गरि ३ जना चिकित्सक तथा अस्पतालका क्वाटर स्टाफ तथा अन्य कर्मचारी गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमध्ये ३ वर्षीय र ५ वर्षीय बालक पनि रहेका छन् ।  ३ देखि ६० वर्ष उमेर समूहका १५ जना महिला र ३० जना पुरुष रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमध्ये नारायणी अस्पतालका चिकित्सक, कर्मचारी तथा विटका सुरक्षाकर्मी सहित २७ जना रहेका छन् भने घण्टाघर स्थित आर्मी व्यारेकका २ जना, सिमरा क्वारेन्टाइनका २ जना, वीरगन्ज कारागारका कर्मचारी पत्नि १ जना, पटेर्वासुगौली गाउँपालिका क्वारेन्टाइनका ४ जना तथा त्रिजुद्ध स्कुल क्वारेन्टाइनका १७ जना रहेका छन् ।
संक्रमितहरु वीरगन्ज महानगरपालिकाका वडा नं. १, २, ३, ४, ५, १०, १२, १६ तथा २५ का रहेका छन् भने कलैया उपमहानगरपालिकका वडा नं. १ का एक जना रहेका छन् । हालसम्म वीरगन्ज महानगरपालिकामा २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६३ जना नारायणी अस्थायी कोभिड अस्पतालमा उपचार भई रहेको छ भने बाँकीहरु अहिलेसम्म होम क्वारेन्टाइनमा रहेका छन् ।
उनीहरुलाई राख्नको लागि नारायणी अस्पतालमा शैयाको व्यवस्था छैन भने अन्य स्थानमा कोभिड अस्पताल निर्माण गर्ने तर्फ पनि सम्बन्धित निकाय सक्रिय भएको देखिदैन । कोरोना संक्रमित हुनेहरुमध्ये सबैभन्दा बढि नारायणी अस्पतालका क्वाटर तथा स्टाफ नै रहेका छन् । वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै मास टेस्टिङ्ग कार्यलाई निरन्तरता दिइएको छ ।
सोही क्रममा धमाधाम संक्रमितहरु फेला परि रहेका छन् । विभिन्न रोगले ग्रसित भई मृत्यु भएका ७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता