इलाममा चट्याङबाट एक युवक घाइते, ३ गाईवस्तु मरे


इलाम, भदौ ७
— इलामका विभिन्न स्थानमा परेको चट्याङका कारण एक युवक घाइते भएका छन् भने तीन वटा गाईवस्तु मरेका छन्। चट्याङका कारण विद्युत् मिटर बक्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

माङसेबुङ गाउँपालिका–३ खलङ्गेमा चट्याङ लागेर २२ वर्षीय विक्रम लावती घाइते भएका छन्। पवन राईको घर अगाडि रहेको फलामको पोलमुनि NewLink कम्पनीबाट वाइफाइ जडान गर्ने क्रममा लावतीलाई चट्याङ लागेको थियो। चट्याङ लागेर बेहोस भएका उनलाई कम्पनीका साहु योगेश राईले तत्काल दमकस्थित आम्दा अस्पताल पुर्‍याएका थिए। उनको इमर्जेन्सी वार्डमा उपचार भइरहेको र हाल बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, देउमाई नगरपालिका–९ सरदार गाउँमा चट्याङले डिल्लीकुमार माबोहाङको घरमा जडान गरिएको विद्युत् मिटर बक्स पूर्णरूपमा क्षति भएको छ। चट्याङकै कारण गोठमा रहेको एउटा पाडा मरेको छ। उक्त घटनाबाट मिटर बक्स र पाडासहित करिब ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

यसैगरी, सूर्योदय नगरपालिका–१३ कोल्बोटेमा चट्याङ लागेर दुई वटा गाई मरेका छन्। मानविर नेम्बाङको घरबाट करिब ५० मिटर दक्षिणमा रहेको गोठमा बाँधेर राखिएका गाई चट्याङ लागेर मरेका हुन्। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

एकै दिन इलामका विभिन्न स्थानमा चट्याङका घटना भएपछि स्थानीयवासीलाई वर्षासँगै चट्याङ पर्दा खुला स्थान, फलामका संरचना तथा रुखमुनि नबस्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment