कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या ३८ पुग्यो : स्वास्थ्य मन्त्रालय



काठमाडौं, २७ असार । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् ।
शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण यही असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उनमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उनको यही असार २६ गते मृत्यु भएको हो ।
यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिएन । उनको यही असार २५ गते मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि यही असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उहाँमा यही असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो ।
उनको यही असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता