एकैदिन सवा २ लाख संक्रमित, यी चार देशमा तीव्र रूपमा फैलिरहेको छ कोरोना महामारी


काठमाडाैँ, २३ असार । विश्वभर काेराेना भाइरस (कोभिड-१९) महामारी फैलने क्रम राेकिएकाे छैन, बरू झन् तीव्र हुँदै गएकाे छ । पछिल्लाे २४ घण्टामा (शनिबार) मात्र विश्वभर सवा २ लाख (२ लाख १४ हजार ७४१) मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डाेमिटर्सका अनुसार विश्वभर हाल काेराेना संक्रमित मानिसकाे कुल संख्या १ कराेड २८ लाख ४१ हजार पार गरेकाे छ । यीमध्ये हालसम्म ५ लाख ६७ हजार ६२७ जनाले ज्यान गुमाइसकेका छन् भने ७४ लाख ७८ हजार १३२ जना संक्रमणमुक्त भएर निकाे भइसकेका छन् । बाँकी ४७ लाखभन्दा बढी मानिसमा अझै काेराेना सक्रिय रहेकाे तथ्यांकले देखाउँछ ।
विश्मा पछिल्लाे समय धेरै संक्रमणका केस फेला परिरहका देशहरूमा अमेरिका, ब्राजिल, भारत, दक्षिण अफ्रिका, मेक्सिकाे, रूस लगायत छन् । यहाँ दैनिक २० हजारभन्दा माथि संक्रमण फेला परिरहेका ४ देशकाे अवस्था मात्र चित्रण गरिएकाे छ ।
अमेरिका
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या र दैनिक पुष्टि संख्या अहिले विश्वमै सर्वाधिक रहेकाे छ । त्यहाँ शनिबार मात्र ६१ हजार ७१९ बढी नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार भने हालसम्मकै बढी दैनिक संक्रमित ७१ हजार ७८७ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अहिलेसम्म कुल संक्रमित संख्या ३३ लाख ५५ हजार ६४६ पुगेकाे छ ।त्यहाँ हालसम्म १ लाख ३७ हजार ४०३ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । शनिबार मात्र त्यहाँ काेराेनाबाट ७३२ जनाकाे ज्यान गएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ ।  शुक्रबार त्यहाँ ८४९ जनाकाे मृत्यु भएकाे थियाे भने बिहीबार ९६० काे ज्यान गएकाे थियाे ।
अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म त्यहाँ १४ लाख ९० हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (शनिबार) त्यहाँ २९ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १७ लाख २७ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
ब्राजिल
उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर अघिल्ला दिनहरूकाे तुलनामा केही घटेकाे छ । त्यहाँ शनिबार एकै दिन ३६ हजार ४७४ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यहाँ शुक्रबार र बिहीबार क्रमशः ४५ हजार २३५ र ४२ हजार ९०७ जनामा संक्रमण पुष्टि भएकाे थियाे । यससँगै ब्राजिलमा कुल संक्रमित संख्या १८ लाख ४० हजार ८१२ पुगेकाे छ ।
काेराेना भाइरसकै कारण ब्राजिलमा शनिबार एक दिनमा ९६८ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार भने त्यहाँ १ हजार २७० काे मृत्यु भएकाे थियाे । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ७१ हजार ४९२ जनाले ज्यान गुमाइसकेका छन् ।
तर त्यहाँ निकाे हुने दर पनि बढी छ । ब्राजिलमा हाल काेराेना संक्रमितमध्ये १२ लाख १३ हजारभन्दा बढी मानिस निकाे भइसकेका छन् । हाल त्यहाँ ५ लाख ५५ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै रहेकाे जनाइएकाे छ ।
भारत 
भारतमा पनि कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शनिबार र शुक्रबार त्यहाँ हालसम्मकै बढी साढे २७ हजार दैनिक संक्रमितत फेला परेका छन् ।
अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या  ८ लाख ५० हजार नाघेकाे  वर्ल्डोमिटर्सको तथ्यांकले देखाएकाे छ । तथ्यांकअनुसार शनिबार मात्र त्यहाँ २७ हजार ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि २२ हजार ६८७ पुगेको छ । शनिबार मात्रै त्यहाँ ५४३ जनाको मृत्यु भएको छ । यसअघि जुलाइ ४ का दिन त्यहाँ एकै दिनमा मृत्यु हुनेको हालसम्मकै उच्च ६१९ पुष्टि भएको थियो ।
अहिले भातरमा २ लाख ९१ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी ५ लाख ३६ हजारभन्दा बढी मानिस भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्रै त्यहाँ २० हजार २५ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अफ्रिका
उता दक्षिण अफ्रिकामा पनि कोरोनाभाइरसका केसहरूमा दैनिक वृद्धि भइरहेकाे छ । पछिल्ला तीन दिन त्यहाँ लगातार दैनिक संक्रमित संख्या १० हजारमाथि रहेकाे छ ।
अहिलेसम्म दक्षिण अफ्रिकामा कुल संक्रमितको संख्या  २ लाख ४६ हजार नाघेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएकाे छ । तथ्यांकअनुसार शनिबार मात्र त्यहाँ १३ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यहाँ हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३ हजार ९७१ रहेकाे छ । शनिबार मात्रै त्यहाँ १११ जनाको मृत्यु भएको छ । यसअघि जुलाइ ७ का दिन त्यहाँ एकै दिनमा मृत्यु हुनेको हालसम्मकै उच्च १९२ पुष्टि भएको थियो ।
अहिले दक्षिण अफ्रिकामा १ लाख २७ हजारभन्दा बढी मानिस भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । शनिबार मात्रै त्यहाँ ९ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । बाँकी १ लाख ३२ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् ।
बढी प्रभावित १० देशकाे पछिल्लाे अवस्था (दैनिक संक्रमित संख्याकाे आधारमा) 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता