प्रधानमन्त्री ओलीलाई बहुमतको निर्णय मान्न बाध्य बनाउने प्रचण्ड-नेपाल समूह भेलाको निष्कर्ष


काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको निर्णय मान्न बाध्य पार्ने रणनीति तय गरेको छ ।
बुधबार प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय मान्न बाध्य पार्ने रणनीति तयार गरेको हो ।
विहीबार (भोलि) स्थायी कमिटी बैठक बस्दैछ । उक्त वैठकमा प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल–नेपाल समूहले तयारी गरेको जानकारी गराइएको छ ।
बुधबार ललितपुरको झम्सिखेल स्थित एक होटलमा भएको भेलामा अध्यक्ष दाहाल, झलनाथ खनाल र माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत समूहका स्थायी कमिटी सदस्यहरु सहभागी भएका थिए ।
सोही भेलाले विधानअनुसार प्रधानमन्त्री ओलीलाई पार्टी निर्णय मान्न बाध्य बनाउने निष्कर्ष निकालेको हो । विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष रहेको जानकारी गराइएको छ ।
यदि प्रधानमन्त्रीले पार्टी निर्णय नमानेको खण्डमा विधानअनुसार नै अगाडि बढ्ने जानकारी गराइएको छ । पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान रहेको छ ।
नेकपाभित्र उत्पन्न भएको समस्या, सरकार र पार्टीबीचको समस्या र आज नेपालको राजनीतिमा देखा परेका विभिन्न समस्याको मुख्य कारण नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रहेको दाहाल–नेपाल पक्षको ठहर छ ।
पार्टीलाइ विचार र विधिबाट चलाइयो भनेमात्रै आन्दोलन र पार्टी जोगिने उक्त समूहको भनाइ छ । मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता