अमेरिकामा कोरोना तत्काल नियन्त्रणमा नआउने, एकै दिन थपिए सर्वाधिक ५१ हजार संक्रमित


काठमाडाैँ, १८ असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ बुधबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार एकै दिन मात्र ५१ हजार ९७ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा याे नै हालसम्मकै बढी दैनिक संक्रमणका केस रहेकाे बताइएकाे छ । बिहीबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या २७ लाख ७९ हजार ९५३ पुगेकाे छ ।
अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अझ सक्रिय उमेर समूहका युवाहरूमा संक्रमण बढी फैलिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।
हाल अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या कम हुँदै गएकाे छ । त्यहाँ हालसम्म १ लाख ३० हजार ७९८ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार त्यहाँ काेराेनाबाट ६७६ जनाकाे ज्यान गएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । मंगलबार पनि ७६४ जनाकाे मृत्यु भएकाे थियाे भने साेमबार चाहिँ ३६६ काे मात्र ज्यान गएकाे थियाे ।
तर अहिले अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बुधबार) त्यहाँ २१ हजार ३४६ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १४ लाख ८४ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
तर अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नअाउने बताइएकाे छ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताएका छन् ।
फाउचीले अमेरिका भोलिको समयमा थप समस्यामा घेरिने बताएका छन् । उनले मानिसहरुले यदि सामाजिक दुरीको पालना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप खराब हुनसक्ने चेतावनी दिएका छन् । सावधानी नअपनाएमा अमेरिकाम हरेक दिन १ लाखभन्दा बढी नयाँ संक्रमित भेटिन सक्ने उनकाे भनाइ छ ।
ब्राजिल
उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । त्यहाँ बुधबार एकै दिन ४४ हजार ८८४ जनामा संक्रमण पुष्टि भएकाे छ । यससँगै त्यहाँ कुल संक्रमित संख्या १४ लाख ५३ हजार नाघेकाे छ ।
काेराेना भाइरसकै कारण त्यहाँ बुधबार १ हजार ५७ जनाकाे मृत्यु भएकाे छ । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ६० हजार ७६३ जनाले ज्यान गुमाइसकेका छन् ।
तर त्यहाँ निकाे हुने दर पनि बढी छ । ब्राजिलमा हाल काेराेना संक्रमितमध्ये  ८ लाख २६ हजारभन्दा बढी मानिस निकाे भइसकेका छन् । बुधबार मात्र त्यहाँ ३६ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल त्यहाँ ५ लाख ६५ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता