अमेरिकामा कोरोना संक्रमित संख्या साढे ३० लाख पुग्यो, ब्राजिलमा ६५ हजार बढीको मृत्यु


काठमाडाैँ, २३ असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ साेमबार पनि ५० हजारबढी नयाँ संक्रमित फेला परेका छन् ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा साेमबार एकै दिन मात्र ५० हजार २६२ जनामा संक्रमण पुष्टि भएकाे छ । मंगलबार बिहानसम्म त्यहाँ कुल संक्रमित संख्या ३० लाख ४० हजार ५०९ पुगेकाे छ ।
त्यहाँ हालसम्म १ लाख ३२ हजार ९७८ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । साेमबार त्यहाँ काेराेनाबाट ३७७ जनाकाे ज्यान गएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अाइतबार त्यहाँ २६२ जनाकाे मृत्यु भएकाे थियाे भने शनिबारचाहिँ २६५ काे मात्र ज्यान गएकाे थियाे ।
अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । अझ सक्रिय उमेर समूहका युवाहरूमा संक्रमण बढी फैलिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।
अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म १३ लाख २४ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (साेमबार) त्यहाँ ३४ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १५ लाख ८३ हजारभन्दा बढी मानिसमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।
यी दृश्यहरूबाट पनि अमेरिकामा संक्रमण तत्काल नियन्त्रणमा नअाउने बताइएकाे छ । अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताइरहेका छन् ।
ब्राजिल
उता अमेरिकालाइ पछ्याइरहेकाे ब्राजिलमा भने संक्रमण दर अघिल्ला दिनहरूकाे तुलनामा केही घटेकाे छ । त्यहाँ साेमबार एकै दिन २१ हजार ४८६ जनामा संक्रमण पुष्टि भएकाे छ । अाइतबार र शनिबार क्रमशः २६ हजार २०९ र ३५ हजार ३५ जनामा संक्रमण पुष्टि भएकाे थियाे । यससँगै त्यहाँ कुल संक्रमित संख्या १६ लाख २६ हजार नाघेकाे छ ।
काेराेना भाइरसकै कारण त्यहाँ साेमबार ६५६ जनाकाे मृत्यु भएकाे छ । अाइतबार पनि ५३५ काे मृत्यु भएकाे थियाे । अहिलेसम्म ब्राजिलमा काेराेना संक्रमणका कारण कुल ६५ हजार ५५६ जनाले ज्यान गुमाइसकेका छन् ।
तर त्यहाँ निकाे हुने दर पनि बढी छ । ब्राजिलमा हाल काेराेना संक्रमितमध्ये ९ लाख ७८ हजारभन्दा बढी मानिस निकाे भइसकेका छन् ।  हाल त्यहाँ ५ लाख ८१ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै रहेकाे जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता