इलामको माई नगरपालिकामा जातीय विभेद गर्ने तीनजना पक्राउ

दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा चन्द्रप्रसादको अन्तिम संस्कार गर्न नदिएको आरोपमा यामकलाका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगाललाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका टीकाराम र पार्वतीले अन्तिम संस्कार गर्न नदिएको र दंगालले मृत्युपछि यामकला बुबाको मुख हेर्न जाँदा अपमान गरेको आरोप छ । यामकलाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक नवीनकुमार राईले जानकारी दिए । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम लगिएको छ । पक्राउ परेका उनीहरूविरुद्ध जातीय छुवाछुतको अभियोगमा अनुसन्धान हुने उनले बताए । 

उनीहरूलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले बताए । 

अधिकारकर्मीकै सक्रियतामा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको थियो । मृतक माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यका जेठाजु हुन् । उपमेयरकै परिवारमा छुवाछुतको घटना भएको भन्दै अधिकारकर्मीले चासोका साथ हेरेका थिए । ‘यो घटना  विभेद र अपमानको पराकाष्ठा हो । यस्ता घटनाले हाम्रो समाज कस्तो छ भन्ने देखाउँछ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘जातीय विभेदको घटनाका पीडितले कमै न्याय पाउँछन् । तर, यो घटनाका पीडितले न्याय पाउँछन् भन्ने आशा छ ।’

यामकलाले १२ वर्षअघि माइती घरदेखि पाँच सय मिटर उत्तरका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । विवाहपछि नजिकै रहेका माइती पक्षले अहिलेसम्म उनलाई बोलाएका छैनन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment