धरानमा कोरोना संक्रमित ६७ बर्षीय बृद्धको मृत्यु


विराटनगर, ६ भदौ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको शनिबार १२ बजे मृत्यु भएको छ ।

धरान १५ का ६७ बर्षीय बृद्धको स्वास्थ्य समस्या गम्भीर भएपछि उनलाई शुक्रबार राति प्लाज्मा थेरापी गरिएको थियो । थेरापीपछि स्वास्थ्यमा सामान्य सुधार देखिएपनि उनको शनिबार दिउसो मृत्यु भएको प्रतिष्ठानले जनाएको हो ।

बृद्धको स्वास्थ्य विग्रदै गएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई कोरोना संक्रमण निको भएका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

वीपीमा प्लाज्मा थेरापीबाट उपचार गरिएका उनी दोस्रो संक्रमित हुन् । यसअघि प्लाज्मा थेरापी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइसकेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उच्च रक्तचापका विरामी बृद्ध एक सातादेखि खोकी, श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि प्रतिष्ठानमा भर्ना भएका थिए । उनको साउन २७ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको सो प्रतिष्ठानले जनाएको छ ।

योसंगै वीपी प्रतिष्ठानमा १० जनाको मृत्यु भएको छ, भने प्रदेश १ मा १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment