कोटेश्वरमा किराना पसलबाट फैलियो कोरोना, असर्फी टोल सिल

काठमाडाैं, २६ साउन । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।

काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल अनुसार थप १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीन जनालाई भने उनीहरूकै घरमा राखिएको छ ।

उहाँले भन्नुभयाे, ‘सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो । उक्त पसलमा सामान किन्न आउनेहरू सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियाे । १३ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको जानकारी आएको छ ।’ प्रवक्ताका अनुसार कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।

काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment