इलामका घरेलु तथा साना उद्योगको लगानी जोखिममा, राहत प्याकेज छैन : प्रदेश सरकार

  • गणेश घिमिरे, 

इलाम
कोभिड १९ का कारण इलामका घरेलु तथा साना उद्योग थलिँदै गएका छन् । अधिकांश ग्रामीण क्षेत्रमा रहेका घरेलु उद्योगको प्रत्यक्ष सम्बन्ध पर्यटन व्यवसायसँग रहेकाले जिल्लामा रहेका सयौं घरेलु तथा साना उद्योगीको लगानी डुब्ने अवस्थामा पुगेको हो ।
जिल्लामा गत वर्षमात्रै ६६ करोड ८८ लाख ६ हजार ७ सय २० रुपियाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय इलामको तथ्यांकले देखाएको छ । उक्त लगानी कोभिड–१९ को कारण जोखिममा परेको नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार उद्योगबाट उत्पादित वस्तुको बिक्री वितरण ठप्पजस्तै हुँदा उद्योगको लगानी डुब्ने अवस्थामा पुगेको हो । सरकारले तत्काल राहतको प्याकेज ल्याएर छिटोभन्दा छिटो घरेलु तथा साना उद्योगलाई पुरानै अवस्थामा पु¥याउन श्रेष्ठको आग्रह छ ।

जिल्लामा अधिकांश घरेलु उद्योगमा घरपरिवारकै सदस्य सक्रिय छन् । ५ देखि १५ जनासम्म मजदूर राखेर सञ्चालन गरेका घरेलु उद्योगीले ५० प्रतिशत ऋण र ५० प्रतिशत व्यक्तिगत लगानीमा उद्योग सञ्चालन गरिरहेका छन् । यी उद्योगमा रहेका सयौं मजदूर बेराजगार बन्ने अवस्थासमेत आएको बताइएको छ ।
जिल्लाका करिब हजार मानिस प्रत्यक्ष रुपमा घरेलु तथा साना उद्योगसँग निर्भर रहेको श्रेष्ठको भनाइ छ । तर, अहिलेको समयमा एकातिर उद्योगबाट उत्पादन गर्न सकिने वस्तु उत्पादन गर्न सक्ने अवस्था नरहेको र कोभिडको कारणले बजारमा समेत जान सक्ने अवस्था नभएका कारण घरेलु तथा साना उद्योगीहरू निक्कै समस्यामा परेको हुन् ।
उद्योगीहरू समस्यामा परिरहेको अवस्थामा स्थानीय सरकारदेखि तीनै तहको सरकारले साना उद्योगीको लागि राहत प्याकेजको घोषणा गर्नुपर्ने इलाम बजारमा ढाका उद्योग सञ्चालन गर्दै आउनु भएकी सम्झना लिम्बूले बताउनुभयो । घरेलु कार्यालय इलामको तथ्यांकअनुसार जिल्लामा जम्मा ३ हजार ५ सय ४५ वटा घरेलु तथा साना उद्योग दर्ता भएकोमा ३ हजार ५० वटा उद्योग नवीकरण भएर सञ्चालनमा रहेको छ ।
जिल्लामा उद्योग दर्ताको क्रम भने बढिरहेको घरेलु तथा साना उद्योग कार्यालय इलामका सूचना अधिकारी युवराज घोषाईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी कृषिसंँग सम्बन्धित उद्योग दर्ता हुँदै आएका छन् ।
यता प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी सन्तोष मोक्तानले भने घरेलु तथा साना उद्योगीको लागि भनेर छुट्टै राहत प्याकेजको कार्यक्रम प्रदेश सरकारले नल्याएको बताउनुभयो । प्रदेश सरकारले बजेटमार्फत नै साना उद्योगीको लागि सम्बोधन हुने गरी कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment