आज महाअष्टमी : महागौरी, महाकालीको पूजा-अनुष्ठान गरिँदै

 काठमाडौँ, ८ कात्तिक । आज महाअष्टमी अर्थात् नवरात्रिको आठौं दिन महागौरीको विधि-विधानअनुसार पुजा-अनुष्ठान गरिँदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन दुर्गाको आठौं स्वरुप गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा साना-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैद्धिक परम्पराअनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा-अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि देवी मन्दिरहरूमा विशेष घुँईचो रहन्छ । तर यसपालि भने काेराेना संकटका कारण मन्दिर र शक्तिपीठहरू प्रायः बन्द रहेका छन् ।

आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाको पूजाअर्चना समेत विधि-विधानअनुसार गरिन्छ ।

शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन बलि दिने चलन पनि छ । यसरी बलि दिँदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र बलि दिन नचाहनेले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना-साना लठ्ठी हालेर जनावरको स्वरुपमा बलि दिने गर्दछन् ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment