देशभर ४ हजार स्वास्थ्यकर्मीमा संक्रमण, अस्पतालहरुमा जनशक्तिको अभाव हुन सक्ने (भिडियो)

काठमाडौं, १२ कात्तिक । स्वास्थ्यकर्मी र चिकित्सक नै संक्रमित हुन थालेपछि अस्पताल नै असुरक्षित हुन थालेको छ । नेपालमा हालसम्म करिब १२ सय भन्दा बढी स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित भएका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

देशभर कोरोना संक्रमितको संख्या बढेसंगै फ्रन्टलाइनरहरु पनि संक्रमित हुनेक्रम बढ्दो छ । अस्पतालमा बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी आफै संक्रमित हुन थालेका छन् ।

वीर अस्पतालमा मात्र चिकित्सक र स्वास्थ्यकर्मी गरी २ सय भन्दा बढी संक्रमित भैसकेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा पनि हालसम्म करिब ४ सय जना संक्रमित भएका छन् । दुई जनाको मृत्यु भएको छ ।

देशभर ४ हजारभन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित बनेका छन् । हालसम्म उपत्यकामा मात्र करिब १२ सय स्वास्थ्यकर्मी संक्रमित भैसकेका छन् । काठमाण्डौ उपत्यकामा मात्र हरेक दिन करिब ४० जना चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुने गरेको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा हालसम्म ८० जना स्वास्थ्यकर्मीहरु संक्रमति भइसकेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सक र स्वास्थ्यकर्मी गरी हालसम्म ४७ जनामा संक्रमण भएको छ । स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएपछि अस्पतालहरुको सेवा नै प्रभावित हुन थालेको छ ।

कतिपय देशमा चिकित्सक स्वास्थ्यकर्मी धेरै संक्रमित हुन थालेपछि अस्पतालमा जनशक्ति अभाब भएर संक्रमित चिकित्सकलाई समेत बिरामीको उपचारमा खटाउने गरिएको छ ।

बेल्जियमको लियाज शहरका चिकित्सकलाई संक्रमित भएपनि अस्पतालमा काममा खटाइएको छ । उक्त शहरमा करिब एक चौथाई स्वास्थ्यकर्मी कोरोना संक्रमित छन् ।

बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्य आफै संक्रमित हुँदै गए अस्पतालमा जनशक्ति अभाब हुन सक्छ । त्यसैले स्वास्थ्यलाई पर्याप्त मात्रामा पीपीई उपलब्ध गराउने र सुरक्षित वासस्थान प्रबन्ध मिलाउन आवश्यक छ ।

न्युज२४ नेपालबाट साभार 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment