नेकपा सचिवालय बैठक आज बस्दै, ओलीको जवाफी प्रस्ताव कस्ताे आउला ?

काठमाडौँ, १३ मंसिर । सत्तारूढ नेकपाको सचिवालय बैठकमा आज (शनिबार) बस्दै छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रस्तावकाे जवाफी प्रस्ताव पेश गर्नुहुने बताइएकाे छ ।

पछिल्लाे समय दुवै अध्यक्ष र पक्षधरबीचकाे असमझदारी चुलिएर पार्टी एकतामै गम्भीर संकट देखापरिरहेकाे छ । यही बेला अध्यक्ष प्रचण्डलाइ जवाफ दिन अध्यक्ष ओलीले सचिवालयमा प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे छ । यसअघि अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्पराविपरीत कार्यकारी अध्यक्ष दाहालले एकल प्रस्ताव ल्याएर गत कात्तिक २८ गतेकाे सचिवालय बैठकमा पेश गर्नुभएकाे थियाे । जसमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई विभिन्न रूपमा आरोपित गरी गरिएकाे छ ।

साे प्रस्तावकाे जवाफस्वरूप अध्यक्ष ओलीले पनि प्रचण्डलाइ चुनाैती दिने खालकाे जवाफी  प्रस्ताव तयार पार्नुभएकाे जनाइएकाे छ । उक्त प्रस्तावमा अर्का अध्यक्ष प्रचण्डले लगाउनुभएको आरोपहरूको खण्डन गर्दै सबैबीच सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएकाे विशेष स्राेतकाे भनाइ छ ।

पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे बस्दैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उहाँमाथि लगाएका आरोपकाे खण्डन गर्ने जानकारी दिनुभयो ।

यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उहाँलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाउनुभएको थियो । सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्‍याउने र एकतालाई अक्षुण्ण राख्ने किसिमलेओलीको प्रस्ताव तयार भएकाे जनाइएकाे छ ।

तर दुवै अध्यक्षबीच आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने चिन्ता समेत नेकपाभित्र उत्पन्न भएकाे छ । यही बेला बस्न लागेकाे सचिवालय बैठकलाई महत्वपूर्णरुपमा हेरिएको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment