इलामको पाटेनागी डाँडा पर्यटकीय गन्तव्यको रोजाइ बन्दै

  • भक्त गुरुङ 

इलाम ।  पछिल्लो समय पाटेनागी डाँडा पर्यटकीय गन्तव्यको रोजाइमा पर्ने एक पर्यटकीय स्थल बनेको छ । चाँदीझैं टल्किएका हिमाल सूर्योदयको पहिलो झुल्को देखिने पाटेनागी डाँडा इलाम नगरपालि ३, पुवामझुवा र पाँचथरको सिमानामा पर्दछ । शान्त वातावरणले पाटेनागी डाँडा पुगेका मानिसहरु प्रफुल्लित हुने गरेका छन् । तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदीझैं टल्किएका हिमालको आनन्दसँगै सूर्योदय र सूर्योस्तको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँबाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भूभाग नियाल्न सकिन्छ ।
यस ठाउँमा पुग्नको लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावार, फूल र जडिबुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभिर, नागढुङ्गालगायत रमणीय ठाउँ छन् । मेची हाइवे नखुल्दासम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहास छ ।
यो क्षेत्रमा ठूलो चौर ९नागी० रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यस क्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत वैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरक(फरक रंगमा फुलेका गुराँसले जता हेर्‍यो उतै राताम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँ प्रजातिको पाहा पाटेनागी नजिकैको गंगटेपानीमा छ ।
यस ठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा ९हाब्रे०, थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लु, द्ध पिउरा, हुचिल, सिमकुखुरा, कालिज, लामपुच्छ्रे, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् ।
यसका अतिरिक्त थुप्रै प्रजातीका फिरन्ते प्राणी र वनस्पतिहरुका लागि इलाम उपयुक्त वासस्थानका रुपमा रहँदै आएको छ । चिसो हावा, हरीयाली वनजंगल र विभिन्न प्रजाती चराचुरुङ्गी र जंगली जनावरको पनि अवलोकन गर्न पाइन्छ । यी क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुरभन्दा ठूलो क्षेत्र भएको कारण विकास गर्न सके पर्यटकीय गन्तव्यका लागि अव्बल मानिन्छ ।
इलामको साविकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान हाल इलाम नगरपालिका ३ पुवामझुवामा पर्दछ । इलामको सदरमुकामबाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्ची सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि नगरका सबै वडामा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको काम गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment