बेपत्ता भएकै दिन माइधारका सरोज शर्माको हतौडा प्रहार गरी हत्या

२०८२ कार्तिक १६ गते , आईतबार


झापा । घरमा छठ पूजाको उल्लास थियो । परिवारका सदस्यहरू व्रत बसेर खरनाको तयारीमा थिए । भोलिपल्ट कार्तिक १० गते छठ पूजाको मुख्य दिन भएकोले झापा शिवसताक्षी नगरपालिका–१० माइधार निवासी सरोज शर्मा आफ्नो कार धुने भन्दै घरबाट निस्किएका थिए । 
कार्तिक ९ गते आइतबार दिउँसो ४ बजे घरबाट निस्किएका ३३ वर्षीय सरोज एकाएक सम्पर्कविहीन भए । ‘साँझ ६ बजेसम्म उनको मोबाइल अन नै थियो,’ उनका आमा गीताले भनिन, ‘त्यसपछि छोराको फोन बन्द भयो त भयो, त्यसपछि कुनै सम्पर्क हुन सकेन ।’  उनले सामाजिक सञ्जालमा बोल्दै छोराको खोजीका लागि अपिल पनि गरेकी थिइन् । 
खाना खाएर निस्किएको सरोज नफर्किएपछि परिवारसँगै छरछिमेकमा खैलाबैला नै मच्चियो । छठको तयारी छाडेर परिवारका सदस्यहरू सरोजको खोजीमा लागे । सरोज हराएको भन्दै परिवारले तत्काल प्रहरीलाई खबर गरे । प्रहरी पनि कारसहित बेपत्ता भएको सरोजको खोजी कार्यमा जुटियो । प्रहरीले सीसी टिभी फुटेजको आधारमा कारको अन्तिम लोकेसन सुरुङ्गा भनेर पत्ता लगायो । तर, सरोज र उनको कार भने फेला पार्न सकेन । सरोजको आमालाई के थाहा कि त्यही दिन बेलुका ६ बजेपछि नै छोराको हत्या भइसकेको थियो । 
हत्याराहरूले सरोजको गाडीलाई जुकेखाडी वनभित्र लुकाएर राखे र बेहोस बनाएर सरोजलाई अपहरण गरी सुनिल साहको गाडीमा चढाएर चेप्टी फनपार्क जाने सडकतिर लगे । 
बेहोस भएका सरोज होसमा आउने बित्तिकै चिच्याउन र कराउन थालेपछि उनीहरूले हतौडाले टाउको पछाडि भागमा पटक–पटक हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
सरोजको हत्यापछि सोही दिन राति ११ बजे उनीहरूले शवलाई बिरिङ खोलामा ल्याएर गाँडे । सरोजको हत्या भएको चार दिन पश्चात् उनीहरूले उनको सेन्लटस कम्पनीको बा १ – ०३०– च ७१९४ नम्बरको कार सल्टाउने योजना बनाए । आरोपी सुनिल आफैले त्यो कार कार्तिक १३ गते बिहीबार बिहान १० बजेको समयमा चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत करिब २०० मिटर पश्चिम चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र ल्याएर जलाइदिएर प्रमाण मेटाउन खोजे । कार जलेको अवस्थामा भेट्टाएपनि सरोजको भने अत्तोपत्तो थिएन । कार जंगलभित्र फेला परेपछि प्रहरी टोली झन् सक्रिय बन्यो । साथै प्रहरीले सरोजको खोजी कार्य झन् तीव्र बनायो । 
हराएको ६ दिनपछि शुक्रबार बिहानको राति उनको शव गाडिएको अवस्थामा फेला प¥यो ।  बाह्रदशी गाउँपालिका- २ र झापा गाउँपालिका- ५ सीमा पर्ने बिरीङ नदीको पुल मुनि गाडिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  उनले लगाएको लुगा र हुलियाको आधारमा शवको पहिचान गरिएको थियो । उनको टाउको गम्भीर चोट पनि देखिएको छ । 
उनको हत्या गरी शव यहाँ ल्याएर गाडेको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी खडकाले बताए ।  mशवको पहिचान मृतकको श्रीमतीले गरिसकेको बताउँदै डीएसपी खडकाले भने, ‘उनको हत्या किन र कहाँ भयो त्यस बारेमा अनुसन्धान हुन चाहिँ बाँकी छ ।’ 
शवको कानुनी प्रक्रिया पूरा मेची प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी शवलाई परिवारजनको जिम्मा लगाई सकिएको जनाइएको छ ।  
हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह रहेका छन् । 
इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी अनुसन्धान गर्ने क्रममा मुख्य योजनाकार सुनिल लगायत ३–४ जनाको समूहले सरोजको हत्या गरी हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनि गाडेको बयान दिएका थिए । प्रहरी बयान सुनिलले भनेका छन् कि सरोजको हत्या गर्ने योजना हाम्रो थिएन । सरोजलाई अपहरण गरी घरपरिवारबाट फिरौती (पैसा माग्ने) योजना चाहिँ हामीले बनाएका थियौँ । 
बयान पश्चात् सुनिललाई प्रहरीले शुक्रबार राति १ बजे नै शव गाडेको स्थान पहिचान गर्न घटनास्थल लगेका थिए । सुनिलले ठाउँ पहिचान गरेपछि आज बिहान ६ बजे इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवस कार्कीको कमान्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्लाबाट थप प्रहरी टोली पुगेपछि खाडल खनेर शव बाहिर निकालिएको थियो । 
सरोज काठमाडौँस्थित आइटी अफिसमा काम गर्दै आइरहेका थिए । उनी तिहार तथा छठ मनाउन घर आएका थिए । छठ मनाएर फेरि काठमाडौँ फर्किने तयारी थिए ।  उनको मृत्युको खबरले परिवारसहित छरछिमेकलाई स्तब्ध भएका छन् । साथै आक्रोशित भीडले हत्या आरोपमा पक्राउ परेका सुनिल र राहुलको घरमा तोडफोड गरेका छन् । भीडले श्याम साहको मे १ ह ७२३७ नम्बरको अटोमा पनि जलाइदिएको छ । तोडफोडका घटनापश्चात् केही बेर माइधार क्षेत्र तनावग्रस्त नै बन्यो । घटना साम्य बनाउन ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।    
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment