आज देशव्यापी कांग्रेसको विरोध प्रदर्शन, सडकदेखि संसदसम्म सरकारलाई दबाब दिने



काठमाडौ, २९ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो।

सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि चिढिएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसंगै सबै लोकतन्त्रपक्षधरलाई अपील समेत गरेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न रगराउन आग्रह गरेका छन्।

कांग्रेसले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्दै छ ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दावी कांग्रेसको छ।

कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौं केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ। देशव्यापी विरोध प्रदर्शनको तयारीबारे छलफल गर्न मंसिर २५ गते बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले अब काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने निष्कर्श निकालेको थियो।

कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment