१५ दिनदेखि सडकमा उखु किसान : नेकपा विवादले आन्दोलन ओझेलमा, पैसा नलिई नफर्कने (फाेटाेफिचर)

काठमाडाैं, १२ पुष । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १५ दिनदेखि आन्दोलनरत छन् । तर प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ ।

उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएपनि  पछिल्ला केही दिनयता किसानको मुद्दा छायामा परेको छ । तर पनि किसानलाई विचलित नबनाएकाे उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रा तर्फबाट आन्दोलन जारी नै छ । घर खर्चका लागि पनि पैसा छैन । त्यसैले कुनै हालतमा पनि अब पैसा नलिई फर्किन्नौँ ।’

किसानको आन्दोलन र सरकारको चर्को विरोधपछि अन्नपूर्ण, श्रीराम, इन्दिरा र लुम्बिनी सुगर मिलले थोरै भए पनि भुक्तानी प्रक्रिया थालेका छन् । तर किस्ता किस्तामा गरिएको भुक्तानीलाई किसानले मानेका छैनन् । सरकार र उद्योगीकै मिलेमतोमा थोरै तिरेर बाँकी रकम नदिने रणनीति बनेको हुनसक्ने किसानको आरोप छ ।

भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने भनिए पनि त्यो कार्यान्वयनमा नआएको रायले बताउनुभयाे । ‘नेता मिलेर केही पैसा भुक्तानी गराउँदै छन्, अलिकति दिएर बाँकी नदिने उद्देश्य हुन सक्छ । पाँच लाख रुपैयाँ दिनुपर्ने किसानलाई ५०/६० हजार र ७०/८० हजार दिनुपर्ने किसानलाई १०/२० हजार दिएर टार्न खोजिँदै छ,’ उहाँले भन्नुभयाे ।

उखु किसानकाे मर्कालाई सरकार र उद्योगीले नबुझेकाे पनि उखु किसानहरूले बताएका छन्  । रायले भन्नुभयाे, ‘उखु उत्पादक किसान रहरले आन्दोलनमा बसेका छैनन् । तर यसलाई सरकार र उद्योगीले बुझेनन् ।’

पैसा नलिई नफर्कने

भुक्तानी नपाउञ्जेल आन्दोलनलाई निरन्तरता दिइने उखु किसानहरूकाे भनाइ छ । भुक्तानीका लागि उखु उत्पादक किसानको खाता रहेको बैंकलाई निर्देशन दिइ सोहीअनुसार किसानको खातामा रकम जम्मा गरिरहेको जनाएको छ ।

अन्नपूर्ण सुगर मिलले पनि पुस ५ देखि दैनिक करिब रु एक करोडका दरले भुक्तानी गरिरहेको जनाएको छ । लुम्बिनी सुगर मिलले किसानसँग माघ १ भित्र सबै भुक्तानी गर्ने सहमति गरेको बताएको छ । सङ्घर्ष समितिले भने एकमुष्ट रकम भुक्तानी दिनुपर्नेमा जोड दिएको छ । किसानहरूले आफूले पाउनुपर्ने रु ९० करोड दाबी गर्दै आएकाे छ भने सरकारले रु ६५ करोडको दाबी गर्दै आएको छ ।

आन्दोलन गरेपछि केहीले भुक्तानी गरिरहेको जानकारी पाएका छौँ तर कुनकुन किसानले कति पाए भन्ने रेकर्ड नभएकाे रायाले बताउनुभयाे । उहाँले किसानलाई जालझेल गर्न खोजेकाे समेत आराेप लगाउनुभयाे ।

बिरामी पर्ने क्रम बढ्दाे

चिसो बढेसँगै किसान बिरामी पर्ने क्रम बढेको छ । उखु उत्पादक किसान हरिप्रसाद यादव, राजेन्द्र मण्डल, रामेश्वर यादव, रमानन्द राय र हरि राय बिरामी परेको रायले बताउनुभयाे ।

तस्वीर : महेश्वर के. सी./ 

न्युज २४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment