आज भारतबाट १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्ने, पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई


काठमाडौँ, ८ माघ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ ।

हिजाे (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभयाे ।उहाँले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार भारतबाट प्राप्त हुने कोभिसिल्ड खोप बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । कोरोनाविरुद्धको खोप आयातका लागि कानुनी, प्राविधिक र आर्थिक तयारीसमेत पूरा भएकाले पहिलो चरणमा खोप आएपछि क्रमशः दोस्रो, तेस्रो चरणमा समेत खोप आउने जानकारी मन्त्री त्रिपाठीले दिनुभयो ।

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराइने जानकारी दिँदै उहाँले क्रमशः सबै नागरिकलाई उपलब्ध गराइने बताउनुभयो । ‘मैले स्वास्थ्य मन्त्रालय सम्हालेको दिनमै फागुनसम्ममा खोप ल्याउने सङ्कल्प गरेको थिएँ’, मन्त्री त्रिपाठीले भन्नुभयो, ‘कोरोनाविरुद्धको खोप माघ महिनामै ल्याउन सफल भइयो ।’

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राथमिकताका आधारमा खोप उपलब्ध हुने जानकारी दिनुभयो । गौतमका अनुसार स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइनेछ । यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने उहाँले बताउनुभयो । यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको छ ।

भारतले बुधबारदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ । बुधबार भुटान र माल्दिभ्समा खोप पठाइएको थियाे । नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।

भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ । पहिलो चरणमा ५ लाख नागरिकलाई खोप उपलब्ध गराइनेछ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेछ ।

यस्ता व्यक्तिले खाेप लगाउनु नहुने 

खोप नलगाउने समूहमा भने एलर्जीको समस्या भएका व्यक्ति पर्छन्  । यस्तै गर्भवतीलाई खोप लगाउनु हुँदैन । खोपको पहिलो मात्रा लगाएपछि एलर्जी देखियो भने पनि दोस्रो मात्रा लगाउनु हुँदैन  । खोप लगाउने समयमा ज्वरो आएको भएमा पनि यो खोप लगाउन नहुने जनाइएको छ । सिरमका अनुसार रगतसम्बन्धी रोग भएका, रगत पातलो बनाउने औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका व्यक्तिहरूले कोभिसिल्ड खोप लगाउन हुँदैन ।

यसैगरी पहिला कोरोनाको अन्य कुनै खोप लगाएको छ भने पनि कोभिसिल्ड नलगाउन भनिएको छ । यो खोपको परीक्षण १८ वर्षभन्दा मुनिका व्यक्तिमा नभएकाले उक्त उमेर समूहलाई पनि यो खोप दिन नहुने जनाएको छ । कोभिसिल्ड खोप लगाएपछि कोही कोहीलाई खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रातो देखिने, चिलाउने जस्ता सामान्य असर देखिने जनाइएको छ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment