तीन महिनाको तलब एकैचोटी बुझ्दै २७४ सांसदहरु, कत्ति सकिन्छ राज्यको ढुकुटी ?


काठमाडौं, १३ फागुन । ५ पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसा सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वाेच्च अदालतले संसद् पुनस्र्र्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिना गरी तीन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरिएको छ ।
२५ फागुनअगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन रहेकाले पनि अब एकमुष्ट रुपमा तीन महिनाको तलब पठाउन लागिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि सांसदहरू तलबविहीन भएका थिए ।

सांसद्हरुले तलब कति पाउँदै छन् ?

हाल सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको भने सांसदको भन्दा बढी छ।

गत मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको जनाइएको छ । २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद रहेका छन् । जसमध्ये ४ जना निलम्बनमा छन् ।

यस्तै, प्रतिनिधि सभाका सांसदका पिएका लागि मात्र मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ ।

मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । उनीहरुको छुट्टै तलब र खर्च निर्धारण गरिएको हुन्छ ।

यसैगरी संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ भने राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको छ ।

तलब भत्ताभित्र संसदको बैठक बसेको दिनको बैठक भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठक बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment