पद गुमेसँगै बादल पुनः गृहमन्त्री बन्दै, आजै साँझ ५ बजे सपथ ग्रहण

गृहमन्त्री बादललेआज (आइतबार) साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्न लाग्नु भएको छ ।

काठमाडौं । राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिन लाग्नुभएको छ ।

नेकपा बदर गर्ने सर्वाेच्च अदालतको फैसलापछि एमालेमा लागेपछि उहाँको पद रिक्त गराउन माओवादी केन्द्रले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आइतबार विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको हाे ।

गृहमन्त्री बादल नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको हो । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमालेमा प्रवेश गरेपछि उनीहरूकाे पद पनि खाेसेकाे थियाे । मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खोसेको थियाे ।

संविधानको नियमअनुसार सांसद पद गुमे पनि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको छ ।  त्यहीँ नियमबमोजिम बादललाई पनि प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र आजै साँझ शपथ ग्रहणको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

संविधानअनुसार रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment