महामारीको घातक रूप, अक्सिजनका लागि दिल्लीमा रातदिन लाइन

काठमाडाैँ । भारतमा कोरोना संक्रमणले घातक रूप लिएसँगै त्यहाँ ज्यान जोगाउनै मुश्किल हुन थालेको छ । अस्पतालहरुमा अक्सिजनको समेत अभाव भएको छ भने संक्रमितहरुले बेड नै नपाउने अवस्था छ ।

दिल्लीको गंगाराम अस्पतालमा पर्याप्त अक्सिजन आपूर्ति नहुँदा २४ घण्टामै २५ जना सिकिस्त बिरामीको ज्यान गएको समाचार सनसनी बनिरहेकै बेला अक्सिजनका लागि लामो लाइन लागेका समाचारहरु पनि आएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीमा अक्सिजन लिनका लागि नागरिकहरुको रातदिन नभनी लाइनमा बसिरहेका छन् । दिल्लीको नारायण अक्सिजन फिलिङ प्लान्टबाहिर सर्वसाधारणको लामो लाइन लागिरहेको समाचार आजतकले प्रकाशित गरेको छ । जसमा अघिल्लो दिनदेखि नै उनीहरु रित्तो सिलिन्डर लाइनमा राखेर उभिएको बताइएको छ ।

दिल्लीमा अहिले माग उच्च रहे पनि अक्सिजनको उत्पादन तथा आपूर्ति न्यून रहेको छ । जसका कारण त्यहाँ अक्सिजनकै हाहाकार भएको छ ।

यसैबीच, दिल्ली सरकारले केन्द्र सरकारसँग अक्सिजनको कोटा बढाउन माग गरेको छ । सो बमोजिम केन्द्र सरकारले दिल्लीको अक्सिजन कोटा बढाइएको र सोमबार राति थप अक्सिजन एक्सप्रेस आएको बताइएको छ । तापनि दिल्लीको अक्सिजन माग धान्न मुश्किल भइरहेको छ ।

महामारीबाट गम्भीर रूपमा प्रभावित भएका राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको बताइएको थियो । गंगाराम अस्पतालका डाक्टरले त आइतबार नै अक्सिजन २ घण्टा मात्र पुग्ने बताएका थिए । अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ ।

अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले अकालमा ज्यान गुमाएका छन् । हाल कोरोना संक्रमणका कारण भारतमा दैनिक ३ हजार हाराहारी नागरिकको ज्यान जान थालेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment