नारायणी अस्पतालमा उपचाररत ५ सङ्क्रमितको मृत्यु, झापामा ३ को मृत्यु


पर्सा/झापा । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका ५  कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २ः३०, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः५५ र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको राति ८ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

झापामा ३ को मृत्यु

पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत हुनुहुन्छ ।

गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment