होटलमा कोरोनाको खोप लुकाएको भन्दै बिर्तामोड नगरपालिकामा तालाबन्दी


झापा । कोरोना भाइरसविरुद्ध सर्वसाधारणलाई लगाउन लागि आएको खोप होटलमा लुकाइएको अवस्थामा भेटिएपछि स्थानीय युवाहरू आन्दोलित भएका छन् ।

बिर्तामोडस्थित एक होटलमा लुकाएर राखिएको अवस्थामा चीनबाट ल्याइएको भेरोसेलको १०३ भायल खोप शुक्रबार बरामद गरिएको थियो । पहुँचका आधारमा गोप्य रुपमा नातेदार र आफन्तहरुलाई लगाउनका लागि खोप होटलमा पुर्याइएको बताइएको छ ।

सो घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै माओवादी र कांग्रेस निकट विद्यार्थी समूहले बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन् । शनिबार उनीहरुले खोपमाथि कालोबजारी हुन लागेको भन्दै छानबिनको माग गरेका हुन् ।

खोप होटलमा लगेर पहुँचका मान्छेहरुलाई लगाउने क्रममा बिर्तामोड स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले शुक्रबारै पक्राउ गरिसकेको छ । उनीमाथि खोप लुकाउनका लागि होटलमा लगेको आरोप लागेको छ । केही दिनयता त्यही होटल उनले नातेदार र अन्य नजिकका मानिसहरुलाई बोलाएर खोप लगाउने गरेको आरोप लगाइएको छ ।

सोही सूचनाको आधारमा प्रहरीले खड्कालाई शुक्रबारै नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा बुझाएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालय झापाले भने उकत खोप जिल्लाबाट नै वैधानिक रूपमा पठाइएको भन्दै खड्कामाथि लगाइएको आरोप गलत भएको बताएको छ । कार्यालयले शुक्रबारै खड्कालाई घर पठाएपछि विर्तामोडका युवा तथा विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले खोप होटलमा लैजानुको कारणमाथि प्रश्न उठाउँदै खड्कालाई कारबाहीको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment