ओली र नेपाललाई योगेश भट्टराईको प्रश्न- ‘युथ फोर्स र अखिल फोर्सको औचित्य के ?’

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले ब्युँताइएको युथ फोर्स र अखिल फोर्सको कुनै औचित्य नभएको बताएका छन् ।

फेसबुकमार्फत् उनले ऐतिहासिक र गौरवशाली संगठनका रुपमा चिनिने अनेरास्ववियु र युवासंघलाई ओझेलमा पारेर यी दुई संगठन व्युँताउनुको कुनै औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन÷क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक÷वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेत्रित्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्श र अखिल फोर्शको औचित्य के छ ?’

उनले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्ने बताएका छन् । उनका अनुसार अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेत्रित्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ ।

उनले भनेका छन्, ‘के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथ फोर्श र अखिल फोर्शले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्से हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे ।’

पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जथ्था प्रयोग गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन् ।

‘यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुसरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन,’ उनले भनेका छन्, ‘तसर्थः यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।’

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ माधवकुमार नेपाल समूहको अन्तरद्वन्द्वले युथ फोर्स र अखिल फोर्स व्युँताइएको छ । तर, यी दुवै संगठनको औचित्य नभएको र अनेरास्ववियु र युवासंघलाई ओझेलमा पारिएको उनको भनाइ रहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment