झापाको दमकमा चिनियाँ स्वास्थ्य सहयोग, रोजगारीमा कोभिड पीडितलाई प्राथमिकता


दमक । चीन–नेपालमैत्री औद्योगिक पार्कले ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग दिएको छ । सो सामग्री रसुवा नाका हुँदै नेपाल ल्याइएको थियो । ती सामग्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले आज एक समारोह बीच दमक नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

औद्योगिक पार्कले दिएको सहयोगमा १५ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन पनि रहेको छ । उक्त मेसिनले पाँच लिटर क्षमतामा उच्च गुणस्तरको अक्सिजन निरन्तर प्रवाह गर्ने बताइएको छ । उक्त मेसिन दमक अस्पतालमा प्रयोग गरिने छ ।

त्यसबाहेक उच्च गुणस्तरीय मास्क लगायत अस्पतालमा प्रयोग हुने विभिन्न सामग्री सहयोग स्वरुप दिइएको छ । ती मास्क पनि स्वास्थ्यकर्मीको प्रयोगका लागि मात्र भएको बताइएको छ ।

सहयोग सामग्री ग्रहण गर्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले अहिले दमक समस्यामा रहेको बताए । महामारी बढ्नाले दमकमा पुन निषेधाज्ञा जारी गर्नुपरेको, अस्पतालहरु फेरि पनि भरिभराउ हुन लागेको बेला सहयोग दिएकोमा औद्योगिक पार्क, चिनियाँ सरकार तथा चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरे ।

उपमेयर गीता अधिकारीले औद्योगिक पार्क दमक तथा पूरै झापा जिल्लाका जनताको सपनाको केन्द्र भएको बताउँदै यसले विपत्का बेला गरेको स्वास्थ्य सामग्री सहयोग मूल्यवान रहेको बताए । नेपालमा क्रमश महामारीले विकराल रुप धारण गरिरहेको बेला औद्योगिक पार्कले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

विशेषगरी एक नम्बर प्रदेशको झापा जिल्लामा महामारी तीब्र गतिमा फैलिरहेको छ । सहयोग हस्तान्तरण गर्दै पार्कका अध्यक्ष गोविन्द थापाले भने, ‘कोभिड महामारीका कारण विश्वले ठूलो क्षति भोगिरहेको छ । यतिबेला औद्योगिक पार्कमा चीन सरकारले बनाउने ठूलाठूला उद्योगहरु हामीले उपहारका रुपमा पाउने थियौं । तर, महामारीका कारण स्वास्थ्य सामग्री सहयोग लिनुपर्ने भयो ।’

रोजगारीमा कोभिड पीडितलाई प्राथमिकता

दमकमा निर्माणाधीन चीन नेपाल मैत्री औद्योगिक पार्कमा आगामी दिनमा कोभिड पीडितलाई प्राथमिकता दिइने भएको छ । दमक औद्योगिक पार्कले ठूलो संख्यालाई रोजगार दिन गइरहेको छ । सो पार्कमा कोभिडबाट मृत्यु भएकाहरुको परिवारलाई रोजगारीमा प्राथमिकता दिइन लागेको हो ।

पार्कका अध्यक्ष गोविन्द थापाले सहयोग सामग्री हस्तान्तरण गर्दै भने, ‘यहाँ बन्न गइरहेको औद्योगिक पार्क निर्जिव वस्तु होइन, यो पार्क यहाँका जनताको साथी हो । त्यसैले विपद्का बेला औद्योगिक पार्कले सबैलाई सहयोग गर्छ । कोभिड १९ बाट मारिएकाहरुको परिवारलाई औद्योगिक पार्कले रोजगारीमा प्राथमिकता दिनेछ ।’

समारोहमा चीनको ल्हासा इकोनोमिक एण्ड टेक्निकल जोनका प्रमुख चोउ चेङग जीले पठाएका सन्देश सुनाइएको थियो । सन्देशमा चोउले महामारीको चपेटामा परेको दमक तथा आसपासका जनतालाई मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

कोभिड–१९ माथि चाँडै विजय पाइने विश्वास गर्दै चोउले महामारीकै बीचमा औद्योगिक पार्क निर्माण प्रक्रिया अगाडि बढाइने सन्देश पठाएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment